काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरी हुस्सु, कुहिरो लागेको छ । चिसो ह्वात्तै बढेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ । धेरै स्थानमा हुस्सु–कुहिरो लागेको हो ।
दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।