ओलीलाई वामदेवले भने– ताकत भए प्रधानमन्त्री बनाउनुस्

नेकपाभित्रको विवादमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षसँगै तेस्रो पक्षको पनि प्रवेश भएको छ ।

प्रधानमन्त्री ओली र पार्टी उपाध्यक्ष वामदेव गौतमबीच पछिल्ला दुई दिनमा रिसाउने र फकाउने क्रम बढेसँगै तेस्रो पक्ष देखिएको हो । यो पक्ष मागेर नपाए धम्क्याएर खाने नभए भोकै बस्ने प्रवृत्तिको समूह भएको टिप्पणी नेकपाभित्र चल्न थालेको छ ।

उपाध्यक्ष गौतमलाई उपप्रधान सहित रोजेको मन्त्रालय लिन बालुवाटारबाट आएको अफरलाई गौतम पक्षका केही नेताले ‘हुन्छ’ भन्ने जवाफ दिन उक्साएका छन् भने केहीले ‘हुन्न’ भन्ने जवाफ पठाउन भनेका छन् । तर, गौतम आफैंले चाहिँ आफ्ना पक्षलाई समेत जानकारी नदिई ओलीसँग वार्ता गरिरहेका छन् । वार्ता भएपनि गौतमले ओलीको अफर स्वीकार गरेका छैनन् ।

यो समाचार तयार पार्दासम्म उपाध्यक्ष गौतम चाहिँ प्रचण्ड–नेपाल गुटमै रहेका छन् । यद्यपी उनको ओली पक्षका नेताहरुसँग पनि छलफल जारी छ । बालुवाटारबाट पटक–पटक मन्त्रीको अफर आईरहँदा गौतमले पछिल्लो पटक ओलीलाई कडा जवाफ दिएको स्रोतको दावी छ । ओलीसँग गौतमले ‘तपाईंहरु चाहिँ पटक–पटक प्रधानमन्त्री भईरहने म चाहिँ कुन योग्यता नपुगेर मन्त्री मात्रै रोज्नुपर्ने रु भन्ने प्रश्न गरेको स्रोतको दावी छ । ‘अब मन्त्री रोज्ने मेरो योग्यता होईन,सक्नुहुन्छ भने प्रधानमन्त्री बनाउनुस्’ गौतमले ओलीलाई भनेका छन् ।

पार्टीभित्रकै षड्यन्त्रले निर्वाचनमा पराजित हुनुपरेको र आफू प्रधानमन्त्री बन्न नपाएको भन्ने गौतमको बुझाई छ । बर्दियाबाट निर्वाचनमा पराजित हुनेबित्तिकै गौतमले ओलीपक्षको असहयोगकै कारण आफु पराजित भएको सार्वजनिक रुपमै बोल्दै आएका थिए ।

माओवादीसँगको पार्टी एकतापछि प्रचण्ड–नेपाल समूहमा सक्रिय भएका गौतम बबचको केही समय ओली समूहमा सक्रिय थिए । त्यसको २ दिनपछी कुनैपनि गुटमा छैन भन्दै प्रेस नोट जारी गरेका गौतम फेरि प्रचण्डसँग नजिक देखिएका थिए ।

राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि गौतम पुनः ओली पक्षसँग निकट हुन खोजेपनि लाभको पद नपाउने देखेर बिच्किएका हुन् ।

मन्त्री बन्न जाँदा प्रचण्ड–नेपालले विश्वास नगर्ने र नजाँदा मुखमै आएको लाभको पद गुम्‍ने खतरा देखेपछि गौतमले तेस्रो विकल्प निकालेका हुन् । प्रधानमन्त्री बनाए ओली क्याम्पमा आउँछु नत्र प्रचण्ड छोड्दिन भन्नु उनको चतुर्‍याइँ मात्रै भएको एक नेताले बताए ।

तर, पार्टी विभाजनको अवस्था आएमा चाहिँ कतै नलाग्ने उनको तयारी रहेको छ । पूर्व एमालेभित्रको माधव नेपाल, झलनाथ खनाल समूहले पनि ओली–प्रचण्ड विवादमा पार्टी फुट्ने अवस्था देखिए कता लाग्ने भन्ने निर्णय लिईसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय