नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडि

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ४८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरको मान्यताप्राप्त ७ वटा विकास बैंकहरुले अघिल्लो वर्षको ३ महिनाको तुलनामा ४८।६३ प्रतिशत नाफा वृद्धि गरेका हुन् । यो वर्ष यी ७ वटा बैंकहरुको कुल नाफा १ अर्ब २६ करोड ७३ लाख रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा यो नाफा ८५ करोड २६ लाख रुपैयाँ रहेको थियो । यो करिब ४१ करोड ४६ लाख रुपैयाँ बराबरको वृद्धि हो ।

विकास बैंकहरुमध्ये ५ वटा बैंकको नाफामा उल्लेख्य सुधार देखिँदा राम्रो बैंकको रुपमा रहेका गरिमा विकास बैंक र ज्योति विकास बैंकको नाफा भने घटेको छ । यो अवधिमा कामना सेवा बैंकले अघिल्लो वर्षको भन्दा करिब १० गुणाले नाफा वृद्धि गरेर कुल नाफा २० करोड पुर्याएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ८६ लाख रुपैयाँ मात्रै थियो ।

त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि यो अवधिमा १ सय २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १२ करोड ७४ लाखमा सीमित रहेको नाफा चालु आर्थिक वर्षमा २८ करोड ८७ लाख पुगेको हो । यो बैंकले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका दुई क्षेत्रीय विकास बैंकलाई आफूमा गाभेको थियो ।

महालक्ष्मी बैंकको नाफा पनि करिब ४९ प्रतिशतको वृद्धि भएर १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १० करोड ६८ लाख रुपैयाँ थियो ।
विकास बैंकहरुकै विरासत मानिने मुक्तिनाथ विकास बैंकले कोभिड–१९ कै महामारीकाबीच २८।५९ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष २२ करोड ८७ लाख रुपैयाँ रहेको सो बैंकको नाफा यो वर्ष २९ करोड ४१ लाख रुपैयाँ पुग्दा नाफामा यो वृद्धि देखिएको हो ।

लुम्बिनी विकास बैंकको नाफा भने यो वर्ष सामान्य मात्रै बढेको छ । अघिल्लो वर्ष करिब ९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको नाफा यो वर्ष ११ करोड १७ लाख पुगको हो ।

तर बाँकी २ बैंकको नाफा वृद्धिको अवस्था भने नाजुक छ । विकास बैंकहरुमा मुक्तिनाथ पछिकै दोस्रो ठूलो बैंकको रुपमा रहेको यो बैंकको नाफामा अघिल्लो वर्षभन्दा ४०।७८ प्रतिशतको कमी आएको छ । अघिल्लो वर्ष १३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको गरिमाको नाफा यो वर्ष ८ करोडमा १२ लाखमा सीमित भएको हो जुन राष्ट्रिय स्तरको विकास बैंकमध्येकै सबैभन्दा कम नाफा समेत हो ।

उता ज्योति विकास बैंकको नाफामा समेत सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १३ करोड ६९ लाख रहेको ज्योतिको नाफा यसपालि घटेर १३ करोड १५ लाख पुगेको छ । यो करिब ४ प्रतिशतको गिरावट हो ।

विकास बैंकको राम्रो पर्फमेन्स
वाणिज्य बैंक र विकास बैंकको नाफामा यो त्रैमासमा निकै उतारचढाव देखियो । कुनै बैंकको नाफा अस्वाभाविक धेरै देखिँदा कुनै बैंकको नाफामा अस्वाभाविक गिरावट आएको अवस्था वाणिज्य बैंक र विकास बैंक दुवैमा देखिएको छ । तर समग्रमा हेर्दा भने वाणिज्य बैंकभन्दा विकास बैंककै कार्यसम्पादन राम्रो देखिएको छ ।

असोजसम्मको अवधिमा यो वर्ष २५ वटा वाणिज्य बैंकको नाफामा करिब १।४३ प्रतिशत कमी आएको थियो । विकास बैंकमा भने यो अवस्था ठ्याक्कै उल्टो देखिएको छ । राष्ट्रिय स्तरका ७ वटा विकास बैंकको नाफा याही अवधिमा भने करिब ४८ प्रतिशतले बढेको देखिएको छ ।

कुन बैंकको नाफा कस्तो रु
यो वर्ष सबैभन्दा बढी नाफा वृद्धि भएको बैंक कामना सेवा हो । अघिल्लो वर्ष २ करोडभन्दा कम रहेको नाफालाई एकैपटक २० करोड रुपैयाँभन्दा बढी पुर्याएर यो बैंकले चमत्कार गरेको छ । यो बैंकको नाफा यसरी बढ्नुको पछाडि कुल ब्याज आम्दानीमा भएको वृद्धि र अन्य शुल्क तथा कसिनबाट आउने आम्दानी प्रमुख कारण मानिएको छ । गत वर्ष एकैपटक १ सय १२ वटा शाखा खोलेको कामना सेवा बैंकको शाखा सञ्जालकै कारण ग्राहक संख्या बढ्दा यस्तो आम्दानी बढेको देखिएको छ ।

शाइन रेसुंगा बैंकको नाफा भने मर्जर तथा एक्विजिसनको कारणले वृद्धि भएको हो । अघिल्लो वर्ष मात्रै शाइनले पूर्णिमा र भार्गव विकास बैंकलाई आफूमा गाभेर राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको थियो । मर्जरसँगै बैंकका सबै परिसूचकहरु सकारात्मक देखिएका छन् ।

उता महालक्ष्मी विकास बैंकले भने यो वर्ष अघिल्लो वर्षको तुलनामा खराब कर्जाको लागि कम रकम प्रोभिजन गरे पुग्ने भएकोले यो रकम नाफमा देखाउन पाउने भएकोले नाफा बढेको देखिएको हो । अघिल्लो वर्ष ८ करोड प्रोभिजन गरिएकोमा यो वर्ष यो रकम साढे २ करोडमा झरेको छ ।

मुक्तिनाथ विकास बैंकले भने प्राभिजनमा राख्ने रकम दोब्बरभन्दा बढी पुग्दा पनि नाफा बढाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी समेत बढ्दा खुद नाफा बढेको हो ।
नाफामा उच्च गिरावट आएको गरिमा विकास बैंकले पनि सम्भावित कर्जा नोक्सानीका लागि कर्जा रिजर्भमा पैसा छुट्याउँदा नाफामा यो गिरावट सहनु परेको हो । गरिमाले करिब साढे ६ करोड रुपैयाँ बढी रकम यस्तो प्रोभिजनमा राखेको छ । बैंकको अरु पक्षहरु भने सामान्य अवस्थामै छ । (रातोपाटीबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय