विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउ ठुलापोखरा स्थित बडागाउ स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

श्री पृथ्वी माध्यमिक विद्यालय मुसिकोट ३ बडागाउ मैदानको २०६१ को एस.एल.सी ब्याच अन्तरगत प्रतिमा राना स्मृति अक्षय कोषको आयोजनामा भएको शनिबार सम्पन्न कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको आयोजकले बताएको छ ।
आपतकालीन अवस्थामा रगतको अभावमा कतिपय मानिसले ज्यान गुमाउनुपरेको स्मरण गर्दै यस अभियानले थोरै भएपनी सहयोग होस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कोषका अध्यक्ष सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्त संकलनका लागि नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही बुटवलबाट ८ जनाको प्राविधिक सहितको टोलि शुक्रबार बेलुकि मुसिकोट आएको र शनिबार रगत संकलन कार्य सम्पन्न गरेको ठकुरिको भनाइ छ ।
रक्तदान कार्यक्रम मार्फत ७० देखि ८० युनिटसम्म रगत संकलन गर्ने लक्ष्य रहेको भएपनि ४० युनिट रगत संकलन भएको कोषले बताएको छ ।
संकलित रगत बुटवलमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक मा जम्मा गरिने ठकुरीले बताउनुभयो ।
कार्यक्रममा सहभागी भएर आफ्नो अमुल्य जीवनदान बराबरको रक्तदान गर्नुहुने सम्पूर्णलाइ र विभिन्न क्षेत्रबाट सहयोग पुराउने सहयोगदाताहरुलाइ पनि आयोजकले धन्यवाद समेत दिएको छ ।
रक्तदान कार्यक्रमको मुसुकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्णध्वज जी सिको प्रमुख आथित्यता रहेको कार्यक्रममा कोषका अध्यक्ष सुमेंद्र सिंहको अध्यक्षता रहेको थियो भने संचालन नेपाल रेडक्रस सोसाइटी ठुलापोखराका अध्यक्ष गुप्त बहादुर कार्कीले गर्नुभएको थियो ।