जन्मदिनको भोजमा झडप हुँदा १ जनाको मृत्यु

विराटनगर। मोरङको बुढीगंगा-६ कोयलपुरमा जन्मदिनको भोजमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार जन्मदिनको भोजमा निम्तो बिना पुगेका ५-६ जनाको समूहले खुकुरी प्रहार गर्दा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको हो ।

खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा राति करिब साढे ९ बजे उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय नानु लिम्बूको भतिजीको जन्मदिनको भोजमा रिजन धनकुटा देव्रेबासका कमल थापा दिउँसो ४ बजे नै पुगेका थिए । बेलुका करिब ७ बजे बुढीगंगा-६ का धनबहादुर तामाङसहितको टोली पुगेको थियो । सो टोलीले रिजनमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । छुट्याउने क्रममा घरधनी नानु लिम्बू र कमल थापा पनि घाइते भएका छन् ।

मृतक दाहाल र घाइते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बसस्थे । उनीहरु रिलायन्स स्पाइनिङ उद्योगमा काम गर्ने मजदुर हुन् ।

प्रहरीका अनुसार धनबहादुर र रिजनबीच कात्तिक २७ गते झगडा भएको थियो । राति आँखामा लाइट बालेको विषयमा विवाद हुँदा रिजनले धनबहादुरलाई हातपात गरेका थिए । घटनालगत्तै दुवै जनाले माफी मागेपछि विवाद मिलेको थियो ।

तर आइतबारको जन्मदिनको भोजमा ५–६ जनाको समूह लिएर पुगेका धनबहादुरले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घटनापछि आक्रमणमा संलग्न समूह फरार भएको छ । उनीहरुको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

वडाध्यक्ष दीलिप चौधरीका अनुसार जन्मदिनको भोजमा मदिरा सेवन गरेका युवाहरुबीच झगडा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय