जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

थम्मन थापा, बागलुङ । आफनो जन्मदिनको सुखद अवसरमा गलकोटका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलविर थापाले गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई २० हजार मुल्यको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता थापाले बताउनु भयो ।

विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी थापाको भनाई छ । थापाले विद्यार्थीहरुलाई कपी, कलम सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

जन्मदिनको सुखद अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी, विपन्न तर्फ विद्यार्थी लभिसा खडकालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको विद्यालयका सहायक प्रधानध्यापक भबिन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस, विपन्न तर्फ विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो ।

उक्त शैक्षिक सामाग्री गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

सो अवसरमा वडा सदस्य लोक बहादुर थापा र जनहित माध्यमिक विद्यालयका प्रधानध्यापक देव बहादुर खत्रीले जन्मदिनको अवसरमा थापालाई शुभकामना व्यक्त गर्नुभएको छ ।

दुवै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने थापालाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेका छन ।

सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालय मल्मका अक्षयकोषकर्ता, सहयोगी एवं पुर्व विद्यार्थी समेत हुनुहुन्छ ।

गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी तुलबिर थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय