छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं – नवलपरासी(पश्चिम), गोरखा, मोरङ, दाङ, धनुषा, सुनसरी, रुपन्देही, चितवन र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ हरकट्टास्थित सडकमा प्र.३ -०१-२३ च १२६६ नम्बरको कारको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-११ भडेरी बस्ने ३५ वर्षीय लोक हरि न्यौपानेको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चौरहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखा, गण्डकी गाउँपालिका-३ तिवारीगाउँस्थित सडकमा ग.१ त ५७८८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरले किच्दा सोही ठाउँस्थित देवकोटा गाउँ बस्ने ५५ वर्षीय प्रेम प्रसाद देवकोटाको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, धनपालथान गाउँपालिका-३ मोरीयापुलस्थित सडकमा प्रदेश १-०४-००१ ख ००२२ नम्बरको बसले साईकललाई बुधबार दिउँसो ठक्कर दिँदा साईकलमा सवार रंगेली नगरपालिका-३ बस्ने २८ वर्षीया रेखा पासवानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका साइकल चालक उनकै श्रीमान ३१ वर्षीय उमेश पासवानको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-४ आईतबारे चोकस्थित सडकमा को.१ ख ७८२८ नम्बरको बसले प्रदेश १-०२-०४१ प ४४०८ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ७२ वर्षीय नगेन्द्र प्रसाद ढुङ्गानाको घट्नास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१० चौलाहीस्थित सडकमा रा.४ प ६०५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ नवलपुर घर भएका ३५ वर्षीय कैलाश भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय बिमल शर्माको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषा, मिथिला नगरपालिका-९ बडहरीस्थित सडकमा बा.४ ख ८०७५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर विश्वकर्माको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी सहित हाल फरार गाडि चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, दुहबी नगरपालिका-३ स्थित सडकमा बा.८४ प ४२९ नम्बरको मोटरसाइकललाई ना.८ ख ५६५६ नम्बरको ट्रकले बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ईटहरी उपमहानगरपालिका बस्ने ३० वर्षीय अभिषेक भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, कञ्चन गाउँपालिका-४ अस्नैयास्थित सडकमा लु.३७ प ५९७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोकिएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ सोघा बस्ने ३० वर्षीय बम बहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-१६ शान्तिचोकस्थित सडकमा लु.४ त ८८५७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय मिलन गुरुङको मृत्यु भएको छ । गुडिरहेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ झुप्रा खोला नजिक सडकमा रा.१ च १३१० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपका चालक दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय राजु बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपका सह-चालक रोल्पा लिवाङ नगरपालिका-३ बस्ने १६ वर्षीय लोकेन्द्र सुनार उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ ठुलो बिउरेनी नजिक सडकमा कर्णाली प्रदेश०२-००१ प ७६६९ नम्बरको स्कुटरलाई कर्णाली प्रदेश ०२-००१ क ०१२४ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सुर्खेत छिन्चु बस्ने २८ वर्षीय रविन राना मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार भेरीगंगा नगरपालिका-१२ बस्ने ३२ वर्षीया रानी रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय