मध्यपहाडीलाई लक्षित गरि तिलाचन धुरीमा टेलिकमको सेवा । 

थम्मन थापा बागलुङ.-रुकुम, रोल्पा र बागलुङको संगम स्थल हो तिलाचन धुरी ।

त्यहाँका रिगा ताल र तिलाचन तालले थप प्राकृतिक सौन्दर्यता बढाएका छन । त्यहाँ पुग्ने जो कसैको प्राकृतिक सुन्दरता र मनोरम दृश्यले मन लोभाउने गरेको छ । 

मध्यपहाडी लोकमार्गको स्तरोन्नति र जिल्लाको पश्चिम भुभागमा कालोपत्रे भए सँगै त्यस क्षेत्रमा मानिसको चहलपहल समेत ह्वात्तै बढेको छ ।

समुद्री सतह देखि ३ हजार ४ सय  मिटर उचाईमा अवस्थित तिलाचन धुरी प्राकृतिक सुन्दरताले भरिपुर्ण रमणिय स्थलको रुपमा पछिल्लो समय परिचित हुँदै गएको छ ।

३ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न पाईने भएकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको आवागमनमा समेत उल्लेख्य वृद्वि भएको छ । पहिले पहिले त्यस क्षेत्र आसपासमा गाईभैंसी, भेडाबाख्रा र चराचुरुङगीको मात्र आवाज सुन्न पाईन्थ्यो ।

पातीहाल्ने नामले परिचित उक्त ठाउँ बागलुङ, पुर्वी रुकुम र रोल्पाका गोठालाहरुको भेटघाट हुने विन्दु र बासस्थान समेत हो ।

आधा दशक अगाडी सम्म पशु चौपाया र सिमित गोठालाहरु भेटिने त्यस ठाउँमा मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती सँगै अहिले त्यहाँ गाडी र मानिसको भिडभाड बढन थालेको छ ।

त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानियबासीलाई लक्षित गरि नेपाल टेलिकमले पहिलो पटक मोवाईल सेवा सञ्चालनमा ल्याएको छ ।

बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरि मोवाईल सेवा टुजी र फोर जी एक साथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले ग्रामीण र दुरदराजका बस्ती सँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको शर्माले बताए ।

यो भन्दा पहिले त्यस क्षेत्रमा मोवाईल सेवा थिएन जसका कारण त्यहाँका स्थानियबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोट देखि पुर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोवाईल र ईन्टरनेट सेवाबाट वञ्चित थिए । अहिले मोवाईल सेवा सुचारु भएसँगै उक्त क्षेत्रलाई सञ्चारमा सुगम बनाएको शर्माको भनाई छ ।

उक्त क्षेत्र पर्यटकीय हिसाबले महत्वपुर्ण रहेको र मध्यपहाडी लोकमार्ग भएर धेरै मानिसहरु ओहोरदोहोर गर्ने भएकाले टेलिकमले उक्त कुरालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको जनाएको छ ।

मोवाईल सेवा सञ्चालनमा आएसँगै फोनमा कुराकानी गर्न र मोवाईल डाटा मार्फत उच्च गतिको फोर जीको ईन्टरनेट सेवा प्रवाह भईरहेको छ ।

भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानियको सहकार्यमा सेवा पुराउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । अहिलेको डिजिटल युगमा मोवाईल प्रयोगकर्तालाई सहजता प्रदान गर्न टेलिकमले मध्यपहाडी लोकमार्गबाट १ घण्टाको उकालो गोरेटो बाटोमा घोडा खच्चड मार्फत उपकरण र सामाग्री ढुवानी गरेर त्यहाँ मोवाईल सेवा पुराएको अध्यक्ष पौडेलको भनाई छ ।

सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको बताएको छ । टेलिकमको सेवा सुचारु भए सँगै स्थानिय र त्यहाँ पुग्ने पर्यटक खुसी भएको पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए ।

त्यस ठाउँमा अहिले पनि विद्युत सेवा पुगेको छैन । जसका कारण टेलिकमले टावरमा उच्च क्षमताको सोलार सेट जडान गरि टावर सञ्चालन गरेको छ ।

मोवाईल सेवा पुगेपछि मध्यपहाडी लोकमार्ग सँगै त्यहाँ पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानियबासी मोवाईल सेवाबाट लाभान्वित भएका छन ।

सेवाग्राही प्रति उत्तरदायी भुमिका निर्वाह गर्न टेलिकमले आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउने कार्यलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय