बाढीले सडकलाई बगर बनायो, सर्वसाधारणलाई सास्ती

जनक विष्ट- धनगढी । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेर बगरमा परिणत गरिदिएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

कात्तिक २ गते राति अविरल वर्षासँगै कर्णाली नदीको बाढी उर्लिएर आउँदा बर्दियाको राजापुर जोड्ने हुलाकी सडक बगाएर सिङ्गै रहेको वडा नम्बर–८ को सत्ती र वनगाउँलाई वारिपारि बनाइदिएको छ । कालोपत्रे गरिएको सत्ती खण्डको हुलाकी सडक बगरमा परिणत भएपछि करिब तीन सय मिटर खण्ड पूर्ण रुपले क्षतिग्रस्त भएको छ

भने डेढ सय मिटर जतिमा आधा सडक नदीले कटान गरिदिएको छ । वन गाउँकी स्थानीय सीता टमटाले बाढीले हुलाकी सडक भत्काउँदा एउटै रहेको वडा वारिपारि बन्दा आवतजावतमा समस्या भइरहेको सुनाइन् ।

‘छोराछोरी स्कुल पढ्नेदेखि किनमेलका लागि पनि हामी सत्ती बजार नै आउनुपर्छ,’ टमटाले अनलाइनखबरसँग भनिन्, ‘पक्की सडक हुँदा सहज थियो । एकाएक आएको बाढीले सडकलाई नै नदीको जस्तै दुई भाग बनाइदिएपछि हामीलाई निकै समस्या भइरहेको छ ।’

अर्का स्थानीय प्रदीप चौधरीको भनाइमा प्रायः स्थानीयले काम विशेषले साँझ बिहान वनगाउँदेखि सत्ती बजार आउजाउ गरिरहनुपर्ने हुन्छ । नदीले सडक बगाएपछि दैनिकी कटाउन समेत मुस्किल हुन थालेको उनी बताउँछन् ।

‘कर्णाली नदीको प्राकृतिक बहाव थुनिँदा यस वर्ष हामीले ठूलो क्षति व्यहोर्नुपर्‍यो,’ स्थानीय कृष्णगोपाल चौधरी भन्छन्, ‘करिब ३० वर्षअघि कर्णाली सामुदायिक वनको माथितिर पर्ने साइपुर क्षेत्रमा स्थानीयको पहलमा बाँधिएको बाँध फुट्दा क्षति भएको हो ।

नदीको प्राकृतिक बहाव थुन्ने काम हामीबाटै भयो ।’ चौधरीको बुझाइमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले नहर निर्माणमा गरिरहेको ढिलाइका कारण बाँध फुट्ने समस्या सिर्जना भएको हुनसक्छ ।

‘किनकि रानीजमरा सिँचाइ आयोजनाले कर्णाली नदीलाई कहिले कुनै ठाउँ त कहिले कुनै ठाउँमा थुन्ने गरेकाले पनि केही वर्षदेखि बस्तीमा नदी पस्न थालेको छ,’ चौधरीले भने । तर टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला भने वर्षौंदेखि रानी कुलोको पानी उक्त क्षेत्र भएर बग्ने गरेको बताउँछन् ।

पानी वनगाउँ हुँदै कर्णाली नदीमा मिसिने गरेकोमा यस वर्ष कुलोले नदीको पानी थेग्न नसक्दा र साइपुरमा बाँध फुटेकाले बाढी हुलाकी सडक हुँदै बस्तीमा पसेर ठूलो क्षति गरेको ठकुल्लाले बताए ।

हाल बगरमा परिणत गरिदिएको हुलाकी सडकको सत्ती खण्डमा अस्थायी सडक बनाएर आवागमन सुचारु गरिएको उनले जानकारी दिए । हुलाकी सडक कटान गरेर बस्तीमा पसेको बाढीले टीकापुरका सयौं बिगाहा क्षेत्रफलमा लगाएको धानबाली समेत बगेर नष्ट भएको छ भने कयौं घर डुबानमा परेका थिए ।

क्षतिको विवरण संकलन हुँदैछ : हुलाकी सडक आयोजना हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती खण्डमा भएको क्षतिको अन्तिम विवरण संकलन भइनसकेको जनाएको छ ।

हुलाकी सडक आयोजना कार्यालयका प्रमुख गगल भण्डारीले बाढीले टीकापुर नगरपालिका–८ मा करिब दुई सय ६० मिटर कालोपत्रे सडक पूर्ण रुपमा बगाएको तथा डेढ सय मिटर क्षेत्रमा आधा कटान गरेको बताए ।

उनले अहिले त्यसको लागत अनुमान संकलन गर्ने कार्य भइरहेकाले पूर्ण विवरण प्राप्त हुन केही समय लाग्ने जनाए । क्षतिको पूर्ण विवरण र लागत अनुमान तयार पारेर पुनः निर्माणका लागि सडक विभागमा पठाइने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय