मुख्यमन्त्री बनेको ७१ दिनमा अष्टलक्ष्मीले दिइन् राजीनामा

काठमाडौं । अल्पमतमा परेकी बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

प्रदेशसभाको बैठकमा बुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन् । राजीनामा दिनुअघि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गरेकी थिइन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै शाक्यले ‘लोकतन्त्र, गणतन्त्र प्राप्त गर्‍यौं, समावेशी संविधान प्राप्त गर्‍यौँ तर, कता कता बाटो बिराउने त होइन भन्ने डर लाग्ने गरेको’ बताइन् ।

‘राजनीतिक परिवर्तनको ठाउँसम्म पुर्‍याउन सबैको योगदान छ । सबै एकताबद्ध भएर संविधान र गणतन्त्रलाई जोगाउन आवश्यक छ । समाजवादको लक्ष्यमा पुग्न पनि सबै एकजुट हुन आवश्यक छ,’ उनले भनिन् ।

प्रदेशसभामा रहेका १०९ जना सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् ।

मुख्यमन्त्री शाक्यसलाई अहिले एमालेका ४३ जना सांसदको समर्थन रहेकाले विश्वासको मत नपुग्ने ठान्दै उनले राजीनामा दिएकी हुन् ।

शाक्य गत २ भदौमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । मुख्यमन्त्री बनेको दुई महिनापछि उनको पद धरापमा परेको हो । उनले गत २४ असोजमा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि गत ४ कात्तिकको प्रदेशसभामा छलफल अघि बढ्न नसकी आजका लागि तय भएको थियो । तर आज पनि विश्वासको मत नपाउने देखेर शाक्यले राजीनामा दिइन् । उनले ७१ औँ दिनमा पद छाड्नु परेको छ ।

बागमतीमा एमालेका ४३, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई राप्रपाका दुई २ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सांसद छन् ।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा चारजना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय