देउखुरी । दाङको लमहीमा शनिबार गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेमध्ये दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।- रासस
यो पनि पढ्नुहोस् -गुल्मी । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर-६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो ।
यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।