काठमाडौँ । बेमौसमी वर्षका कारण ७ अर्ब भन्दा बढिको धानबाली नष्ट भएको छ ।
केही दिन अघि आएको बेमौसमी वर्षाको कारण आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा मात्रै ७ अर्ब २२ करोड भन्दा बढिको धानबाली नष्ट भएको कुषि तथा पशुपन्छी विभागले जनाएको छ ।

सबैभन्दा बढि लुम्बिनी प्रदेशमा मात्रै ४ अर्ब ४१ करोड भन्दा बढी नोक्सान भएको छ । बेमौसमी वर्षाले प्रदेशको ४२ हजार ४ सय २७ हेक्टर जमिनमा असर परेको छ ।
बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित भएका जिल्लाहरू हुन ।
त्यसै गरी सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रुपैयाँको धानबाली नष्ट भएको छ । प्रदेशको ५५ हजार हेक्टर जमिनमा लगाइएको धानमा असर परेको छ भने र १८ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेको छ । कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी असर परेको छ । ६८ हजार ४ सय मेट्रिकटन धान बाली क्षति भएको हो ।
प्रदेश नं १ मा पनि ८० करोड रुपैयाँको धानबालीमा क्षति पुगेको छ । ४९ हजार ९ सय ४५ हेकटर जमिनमा लगाइएको धानमा असर परेको छ भने ७ हजार ४ सय ९२ हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुग्दा कुल २८ हजार ४ सय ६९ मेट्रिकटन धान नष्ट भएको हो ।प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै परेको मन्त्रालयले जनाएको छ ।
सबै प्रदेशबाट तथ्याङ्क आउन बाँकी रहेकोले वर्षाका कारण प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।