हात्तीको आक्रमणबाट श्रीमान्-श्रीमतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ/दशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ .

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ,’ घटनास्थलबाट शुक्लाफाँटा-१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय