बाढी-पहिरोः देशभर मृत्यु हुनेको संख्या १५ पुग्यो, दर्जनौं बेपत्ता

काठमाडौँ – देशको विभिन्न भागमा आएको बाढी–पहिरोले एकैदिन १५ जनाको ज्यान गएको छ  चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् । पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ ।

भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।

यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको छ ।

जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बैतडीको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्की छन् ।अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ ।

कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइते भएकी छन् ।युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए ।दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो तर विष्णुको मृत्यु भएको छ । सरिताको भने डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै, बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको छ । थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले बताए ।

बझाङ सदरमुकाममा रहेका सञ्चारकर्मी मकरराज धामीका अनुसार वर्षाका कारण पहिरो गएको भनिएको क्षेत्रमा जान सम्भव छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी पुरुषोत्तम कँडेलले पनि घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।

कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको मंगलबार साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको ठूलीगाडमा आएको बाढीमा दम्पती फसेका छन् । डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा दम्पती फसेको प्रहरीले जनाएको छ ।यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका–५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्ऽले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको केन्ऽले जनाएको छ । यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो । यस्तै डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै अछामको चौपाटी गाउँपालिका–६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ । बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका–१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय