शिक्षण छाडेर सुन्तला खेती, चार लाख लगानीबाट वार्षिक दुई लाख बचत

दैलेख – स्वदेशमा रोजगारी पाउन मुस्किल भयो भन्दै देशैभरका युवायुवती दिनहुँ वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । स्वदेशमै रहेकाहरू पनि बरु सामान्य जागीर खोज्न लाग्छन् तर कृषि पशुपालन गर्नतिर ध्यान नै दिँदैनन् ।

तर, दैलेखका शिक्षक डम्बर खड्काले भने छँदाखाँदाको जागीर छाडेर पूर्णकालिन खेती किसानी र पशुपालन सुरु गरेका छन् । दुल्लु नगरपालिका–६ का डम्बरले शिक्षण पेसा छोडेर ०७७ सालदेखि व्यावसायिक सुन्तला खेती सुरु गरेका हुन् । उनले मालिका कृषि तथा पशुपंछी फर्म स्थापना गरेका छन् ।

व्यवसायिक रुपमा सुन्तला खेतीमा लाग्दा र खेतीबाट सफलता मिल्दा निकै सन्तुष्टि मिलेको उनी बताउँछन् ।अब उनको उदेश्य युवालाई गाउँमै रोजगारी दिने हो ।

अहिले पनि उनको फर्ममा चार जना युवाले नियमित रोजगारी पाएका छन् । एक लाख रुपैयाँबाट सुन्तला खेती सुरु गरेका उनले अहिले व्यवसाय बढाएर वार्षिक ६ लाख बराबरको सुन्तलाका बेर्ना उत्पादन गर्छन । उनले फर्ममा २१ मिटर लम्बाइका तीन वटा पक्की नर्सरी बनाएका छन् ।

पछि चार लाख लगानी गरेर व्यवसाय गर्दा खर्च कटाएर वार्षिक दुई लाखसम्म बचत भएको उनले बताए । व्यवसाय बढाएसँगै अहिले आम्दानी पनि बढ्दै गएको छ । सुन्तला खेती सुरु गरेदेखि नै आम्दानी राम्रो भएको उनले बताए ।

यसरी सुरु भयो सुन्तला खेतीको सोच
उनले गाउँमै नर्सरी स्थापना गरेपछि फलफूल तथा अन्य जडीबुटीका बिरुवा खोज्न बनेपा, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । बिरुवाको सहज पहुँच नहुँदा यस भेगका धेरैले चाहेर पनि फलफूल खेती गर्न सकेका थिएनन् । उनकै कारण अब गाउँमा फलफूल खेती फस्टाउने स्थानीयको विश्वास छ ।

उनले एज पिस होम्स एकेडेमी सुर्खेत र म्यानस अंग्रेजी विद्यालय काठमाडांैमा शिक्षक भएर काम गरे । उनको तलब सेवासुविधा राम्रै थियो । तर, बाबुबाजेले जोडेको खेतबारी बाँझो भएको उनले थाम्न सकेनन् । उनले भने, ‘गाउँमा मलामी जान मानिस समेत पाइन छाडे । यी सबै कुराले मन अशान्त भयो ।

र आफनै ठाउँमा केही गर्छु भनेर फर्किए ।’ त्यसपछि उनी गाउँ पसे । हुन त उनी गाउँ पसेको एक वर्ष मात्रै भएको छ तर पनि ४–६ जनालाई रोजगारी दिन थालिसकेका छन् । अब गाउँका सबैलाई आत्मनिर्भर बनाउन चाहन्छन् । पुरानो खेती प्रणालीलाई परिवर्तन गर्ने उनको सोच छ ।

सुरुमा कति गरे लगानी ?
सुरुमा एक लाखबाट सुन्तला बगैंचा निर्माण सुरु गरेका खड्काले अहिले ५० प्रतिशत अनुदानमा कृषि विकास कार्यालय र ५० प्रतिशत मालिका कृषि तथा पशु पशुपंछी फर्मको गरी १२ लाख लागतमा नर्सरी बनाएका गरेका छन् । नर्सरीमा तीनपाते सुन्तला कलमी, अगौटे, पछौटे जातका सुन्तलाका बिरुवा उत्पादन र परीक्षण गरिसकेका छन् । तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गर्न थालिसकेका छन् ।

काउली, बन्दाका बेर्ना समेत उमारेका छन् । सुन्तला बगैंचा निर्माण गर्दै जाँदा उनलाई तरकारी खेती सुरु गर्न मन लागेको बताए । त्यसपछि उनले तरकारी खेती सुरु गरे । जसबाट मनग्य आम्दानी गर्न थालिसकेका छन् ।

पशुपंछी पालन
उनले टर्की, कडकनाथ कुखुरा, लोकल कुखुरा समेत पालेका छन् । सजिलो र राम्रो आम्दानी हुने व्यवसाय भएकाले छिमेकीलाई समेत पशुपालन गर्न उनले परामर्श दिने गरेका छन् । ‘जोखिम पनि कम,’ उनले भने, ‘यो व्यवसायबाट राम्रो आम्दानी पनि गर्न सकिन्छ । उनले यो व्यावसाय गर्न धेरै क्षेत्रफल पनि नचाहिने हुनाले सहज हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय