नयाँ अवतारमा करिष्मा

लगातारको बर्खे झरी थामिएको छ । फुल्चोकी डाँडामाथिको बादल हटिसकेको छैन ।

गोदावरी वनस्पति उद्यान ओसिलो छ । हरियाली जंगल, फूल–बगैंचा, सानो खोल्सा । यसैलाई पृष्ठभूमि बनाएर अभिनेत्री करिष्मा मानन्धर फोटोका लागि पोज दिइरहेकी छिन् ।मौसम खुल्यो ।

उसैगरी करिष्माको सौन्दर्य पनि । डिजाइनर रोजिना श्रेष्ठको पहिरनमा उनी विछट्टै आकर्षक देखिइन् ।

चिनाइरहनु परेन, करिष्मा आफ्नो जमानाकी लोकप्रिय अभिनेत्री । अभिनेत्रीको रूपमा करिष्माको उदय त्यही मोडबाट हुन्छ, जहाँबाट नेपाली सिनेमाले व्यावसायिक दौड शुरू गरिसकेको छ ।

कृष्टि मैनाली, तृप्ति नाडकर, रूपा रानाहरूको विरासत उनको काँधमा टेकाइरहँदा उनी जम्माजम्मी १४ वर्षकी थिइन् । त्यो कलिलो उमेरबाटै नेपाली सिनेमाले उनलाई आमन्त्रण गर्‍यो ।

करिष्मा भन्छिन्, ‘नढाँटी भन्नुपर्दा त्यसबेलासम्म हिरोइन भनेको के हो, सिनेमा भनेको के हो भनेर मैले राम्ररी बुझेकै थिइनँ ।’

सिनेमाको चहकिलो दुनियाँमा प्रवेश गर्नु उनको लागि एक नियमित आकस्मिकता थियो । के गर्ने, के बन्ने भन्ने कुनै जीवनको योजना थिएन । ‘मान्छेको जीवनलाई कुनै बेला यस्तो जादूयी क्षणले स्पर्श गर्दा रहेछन् कि, त्यहींबाट उनको भविष्यको बाटो तय हुँदोरहेछ’ यसो भनिरहँदा उनी कुनै चिन्तक झैं देखिइन् ।

करिष्माले किशोरवयदेखि नै सार्वजनिक चिनारी पाइन् । यसले उनलाई एकातिर सेलिब्रेटी बनायो भने, अर्कोतिर उनको निजी जीवन खोसिदियो । अन्ततः जीवन उनको मर्जीले मात्र नचल्ने भयो । सेलिब्रेटीको फ्रेमभित्र उनले आफूलाई समेट्नुपर्‍यो ।

‘सन्तान’ चलचित्रबाट उनले चलचित्रमा डेब्यु गरिन्, २०४२ सालमा । प्रकाश थापा निर्देशित चलचित्रमा भुवन केसी, अर्जुनजंग शाही, कृष्टि मैनाली आदि थिए ।

त्यसपछि ‘मायालु’, ‘कस्तूरी’, ‘अरुणिमा’, ‘तपस्या’ हुँदै उनले दर्जनौं चलचित्रमा अभिनय गरिन् । सिनेमा खेल्दा–खेल्दै निर्माता विनोद मानन्धरसँग विवाह गरिन् ।

एक यस्तो बेला पनि थियो, हिरोइन भनेकै करिष्मा हुन् । अर्थात् उनी हिरोइनको पर्याय झैं बनेकी थिइन् । त्यही ताका उनले ‘ट्रक ड्राइभर’, ‘साथी’, ‘सपना’ ‘वसन्ती’ जस्ता थुप्रै हिट फिल्म दिइन् ।

करिअर उत्कर्षमा रहेकै बेला उनले केही सिनेमा निर्माण गरिन्, बाबुसाहेब, ढुकढुकी ।पछि उनी अमेरिका गइन् । फर्केपछि पुनः अर्को चलचित्र बनाइन्, फागु । व्यावसायिक रूपमा यो चलचित्र उस्तो सफल भएन ।

एकातिर कलाकारितालाई थाती राखेर करिष्मा राजनीतिमा पनि सक्रिय भइन् । फेरि राजनीतिक जीवनलाई विश्राम दिंदै पठन–पाठनमा लागिन् । यतिबेला भने उनी घर–परिवारसँगै रमाइरहेकी छिन् । भन्छिन्, ‘जीवनभर काम र करिअरले छाडेन । दुधे बच्चालाई छाडेर समेत काममा जानुपर्‍यो । अहिले कोभिडयता भने परिवारसँग बस्न पाएकी छु ।’- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय