बागलुङमा चट्याङले हरेक वर्ष जनधनको क्षति गर्छ

राजन रेग्मी-बागलुङ: बाढी पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्तीको समाचार जस्तो चट्याङ्को समाचार खासै बाहिर आउँदैन ।

मानवीय तथा पशुचौपायाको क्षतिका हिसाबले भने चट्याङ पहिलो नम्बरमै देखिन्छ । अन्य प्राकृतिक विपत्ती रोक्ने जस्तो चट्याङ रोक्ने खासै भरपर्दा विधि पनि छैन । मानवीय क्षति रोक्नका लागि केहि हदसम्म भए पनि सुरक्षित मानिएको अर्थिङ जस्तो प्रविधिलाई पनि मानिसहरुले वेवास्ता गर्दा तथा सरकारले चट्याङ जस्तो प्राकृतिक विपत्तीलाई प्राथमिकतामा नपर्दा जिल्लामा पशुचौपायाको मात्र नभई मानिसहरुको पनि चट्याङका कारण अकालमा ज्यान गुमाउनु परेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ७ जनाले चट्याङका कारण ज्यान गुमाएका थिए भने १९ जना घाईते भएका थिए ।

आर्थिक वर्ष ७७÷७८ मा जिल्लाका विभिन्न क्षेत्रमा परेको चट्याङ् लागेर ४ जनाले ज्यान गुमाउनुका साथै एक दर्जन व्यक्ति घाईते भएका थिए ।

आर्थिक वर्ष ७६÷७७ पनि चट्याङका कारण १ को मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए । त्यस्तै आर्थिक वर्ष ७५÷७६ मा पनि चट्याङका कारण २ जनाले ज्यान गुमाउनु का साथै ४ जना घाईते भएका थिए । अघिल्लो आर्थिक बर्षमा चटयाङकै कारण ५ पशुचौपायाको मृत्यु भएको छन् भने १ घाईते भएको प्रहरीको तथ्याङ रहेको छ ।

चट्याङ्कै कारण ८ घरमा क्षति भएको छ भने १ गोठमा क्षति भएको छ ।

अधिल्लो आर्थिक वर्षमा मात्र करिब १७ लाख ५० हजार क्षति भएको प्रहरीको अनुमान छ । बागलुङ जिल्ला चटयाङ्को हिसाबले पनि धेरै जोखिममा रहेको जिल्ला रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण बहादुर पल्ली मगरले बताउँछन् ।

जिल्लाको विषेशगरी जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगार्ड गाउँपालिका प्रायः चट्याङ पर्ने गरेको छ ।

मगर भन्छन्,‘ गत आर्थिक वर्षमा मात्र जैमिनी नगरपालिकामा चटयाङका कारण ५ जना, काठेखोला गाउँपालिकामा ४ जना, ताराखोला गाउँपालिकामा २ जनाका साथै बडिगार्ड गाउँपालिकामा १ जना घाईते भएका छन् । यो तथ्याङ्क हेर्दा जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका चट्याङ्का हिसाबले जोखिम क्षेत्र रहेको छन् ।’

गत आर्थिक वर्षमा जिल्लामै सबैभन्दा धेरै चट्याङले लागेर बडिगाड गाउँपालिका ३ जना मृत्यु भएको थियो भने ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो ।

चट्याङ प्राकृतिक प्रकोप भएकाले रोक्न नसकेपनि यसबाट हुने क्षति न्यूनिकरणका लागी चट्याङको जोखिममा रहेको ठाउँमा ‘लाईटनिङ मास्क’ जडान गर्न जिल्ला विद्युत प्राधिकरण बागलुङले जनाएको छ ।

विद्युत प्राधिकरण बागलुङका कार्यालय प्रमुख शिव नारायण गोशलीका अनुसार ‘लाईटनिङ मास्क’ जडान गरेमा केहि हदसम्म जोखिम कम हुने उनी बताउँछन् । ‘लाईटनिङ मास्क’ घरको धुरीमा राखेपछि केहि निश्चित क्षेत्रको माथी चट्याङ पर्दा चट्याङबाट निस्केको उर्जालाई जमिन मुनी लैजाने गर्दछ । जसका कारण मानवीय क्षति हुने सम्भावना निकै कम हुन्छ ।

साथै पानी परेको समयमा विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि नचलाउनका समेत उनले आग्रह गरेका छन् ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय