काँग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रधानमन्त्री ओलीको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो ।

आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपनि देउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गरेका हुन् । आइतबार पार्टी कार्यालय सानेमामा दिउँसो ३ बजेदेखि सुरु भएको बैठकमा सुरुमा महामन्त्री पुर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राखेका थिए ।

त्यसपछि नेकपाभित्रको आन्तरिक विवाद र काँग्रेससँग भएको छलफलबारे देउवाले पौडेलको जिज्ञासाअनुसार ब्रिफिङ थालेका थिए ।

सो क्रममा देउवाले सत्ता राजनीतिबारे आफूलाई भन्दा बढी जानकारी नेता मिनेन्द्र रिजाललाई थाहा भएको भन्दै कुरा सुरु गरेका थिए  उनले बैठकमा भने, ‘मलाई भन्दा पनि बढी जानकारी मिनेन्द्रसँग छ । यसको वातावरण सबै मिनेन्द्रले मिलाउनु भएको हो ।’

उनले ओलीसँग संसद अधिवेशन अन्त्यअघि टेलिफोटमा कुराकानी भएको तथा बालुवाटारमा पनि भेटवार्ता भएको बैठकलाई जानकारी गराएका छन् ।

सो बैठकमा ओलीले पार्टीभित्र समस्या रहेको भन्दै यो अवस्थामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए । ‘कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीको समस्या पनि राख्नुभयो । तपाईँले साथ दिनुपर्छ पनि भन्नुभएको हो । मैले पार्टीमा छलफल गर्छु भनेको हुँ । तर, गणतन्त्रलाई नै खतरामा पार्नेगरी जानुभयो भने त्यो स्वीकार्य हुँदैन भनेर मैले स्पष्ट भनेको छु’, देउवाको ब्रिफिङ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।
यस्तै आज पनि काँग्रेस संसदीय दलको कार्यालयमा नेकपा नेता सुवासचन्द्र नेम्वाङसँग आफ्नो छलफल भएको भन्दै उनले सो छलफलमा पनि नेम्वाङले पार्टीभित्र समस्या देखिएकाले सहयोग मागेको जानकारी गराए । ओलीको निर्देशनअनुसार नेम्वाङले नेता रिजाललाई सम्पर्क गरेर देउवासँग छलफलको चाँजापाँचो मिलेको थियो ।

रिजालसमेत सहभागी सो बैठकमा एमसीसी, नागरिकता विधेयकलगायतको विषयमा पनि कुरा भएको देउवाको भनाइ थियो । एमसीसी पारित हुनुपर्छ भनेर काँग्रेसले निर्णय गरिसकेकाले यसमा अब सरकारले पहल लिनुपर्ने आफूले जवाफ दिएको देउवाको भनाइ थियो ।

बैठकमा भएको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भनेका थिए, ‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा काँग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ ।’

सो क्रममा सत्ता सहकार्यको प्रस्ताव नेम्वाङबाट आएको जानकारी गराउँदै देउवाले यो विषयमा आफूले केही जवाफ नदिएको बताए । नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन समेत आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो ।

देउवाको ब्रिफिङ पछि अहिले पार्टी कार्यालयमा काँग्रेस बैठक सत्तारुढ दलबाट आएको प्रस्ताव र महाधिवेशन कार्यतालिकाको विषयमा केन्द्रीत रहेको बताइएको छ ।

यो समाचार पढ्नुहोस प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको रहस्य खुलेको छ । आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतको दावी छ ।

यदि सहकार्य नै गरेर जाने हो भने, गृह अर्थ लगायतका मन्त्रालय काँग्रेसलाई दिन सकिन्छ । त्यसका लागि तपाईहरुले तयारी गर्दा हुन्छ’ ओलीको सन्देश सुनाउँदै नेम्वाङले काँग्रेस नेतालाई भनेका थिए । यसैबीच काँग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवासहित काँग्रेसका प्रभावशाली नेताहरु गगन थापा विश्वप्रकाश शर्मा, रेमश लेखक, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाललगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् । रतोपाती डटकम बाट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय