केपी ओलीलाई अर्काे झड्का

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ ।

बिहीवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो  एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने जानकारी दिए ।

बुधवार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचार समेत गरेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

‘१० औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो,’ पन्तले भने ।

पार्टी अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र र एमाले एकताअघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्व माओवादीका नेताहरुलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् ।

२६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको छ । अध्यक्ष ओली २०७५ जेठ २ गतेमा नफर्किएर आफ्नो पुरानो निर्णय २०७७ फागुन २८ गतेमा फर्किएको आरोप नेपाल पक्षको रहेको छ ।

एमाले नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैधानिक रहेकाले आफूहरु सहभागी नहुने बताएका छन् । अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक सर्वसम्मत रूपमा बहिष्कार गर्ने निर्णय भएको बताउँदै उनले यसबीचमा वार्ताको प्रयास जारी नै राख्ने बताएका छन् ।

उनले सहमतिका लागि औपचारिक रुपमा वार्ता समिति गठन गरेर पार्टी भित्रको समस्या समाधानका लागि प्याकेजमै सहमति गर्नुपर्ने निष्कर्ष बैठकको रहेको बताएका छन् ।

ओली पक्षले केन्द्रीय कमिटीको बैठक बोलाउने र खनाल–नेपाल पक्षले बैठक बहिष्कार गर्ने गरी अगाडि बढे पनि दुबै पक्षका दोस्रो तहका नेता विवाद मिलाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । सहमति साथ अगाडि बढ्ने विषयमा छलफल गर्दै उनीहरुले विवाद समाधान गर्न केन्द्रित भएको एमाले स्रोतको दाबी छ ।

२०७५ जेठ २ गतेमा नफर्की महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गरिएकाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष बामदेव गौतम समेत सहभागी नहुने उनी निकट एक नेताले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय