चाइनिज ताइपेईविरुद्ध नेपालको जित

काठमाडौँ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेनाल्टीको अवसर सहजै उपयोग गरे । खेलको ११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले रोके ।

यस्तै खेलको १६औँ मिनेटमा सुनिल बलको गोल गर्ने प्रयास सफल हुन सकेन् । खेलको २४ औँ मिनेटमा अन्जन विष्टले गोलको प्रयास गरेका थिए तर उनी चुके । मध्यान्तरअघिको खेलसम्म ताइपेईले नेपालसामु निकै दबाबमा खेल्यो ।

सो अवधिभर नेपाली टोली ताइपेईमाथि हावी रहन पुग्यो । नेपाली खेलाडीहरूले बराबरी गोल गर्ने कुनै अवसर ताइपेईका खेलाडीलाई दिएनन् । मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई सफल भने हुन सकेन् ।

यसबीचमा खेलको ५४ औँ मिनेटमा सन्तोष तामाङको प्रयास पनि सफल हुन सकेन । यस्तै खेलको ७० औँ मिनेटमा ताइपेईले कर्नरकिकको मौका पाए पनि त्यसको नेपाली खेलाडीले बचाउ गरेका थिए । खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल भए पनि ८१ औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे ।

योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटकपटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।

‘जित अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई समर्पण’ : प्रशिक्षक अलमुताइरी
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा प्राप्त गरेको जित अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गर्न चाहे ।

“यो जित नेपाली समर्थकका लागि हो । विशेषगरि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । उहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके” उनले खेलपछि खुसी साट्दै भने ।

प्रशिक्षक अलमुताइरीले आफ्नो जितको खुसी नेपाल मात्र नभएर कुवेतको लागि पनि उत्तिकै रहेको बताए । उनले भने, “मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु । कुवेतका सबैलाई पनि बधाई दिन चाहन्छु । कुवेत बाहिर गएर कुनैपनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो । यो जितले मेरो लागि निकै महत्त्व बोकेको छ ।”

उनले नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताए । “यो जित हासिल गर्न सहज थिएन । हामीले निकै मिहिनेत गरेर अघि बढेका थियौं” उनले भने, “मलाई विश्वास गर्ने एन्फा, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटि लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।”

उनले थपे, “यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौँ । केही धैर्य गर्नुहोस । हामीले अझै धेरै हेर्न बाँकी छ ।”

प्रशिक्षक अलमुताइरीले खेलको तयारीमा टोलीले गरेको मिहिनेतकै कारण जित सम्भव भएको बताए । उनले भने, “हामीले चाइनिज ताइपेइको खेल अध्ययन गरेका थियौँ । आज विहान मात्र पनि हामीले ११ वटा अभ्यास गरेर अध्ययन गरेका थियौँ । त्यसैले मैदानमा खेल्न हामी तयार थियौँ ।”

उनी अगाडी भन्छन्, “हामीले खेलको अवस्था अनुसार के गर्ने भन्ने रणनीति तयार पारेका थियौँ । अन्जनले तेस्रो मिनेटमा नै गोल गरेपछि खेलमा नियन्त्रण गर्न निकै सहज भयो । हामीले खेल कसरी खेलाउने भन्ने नियन्त्रण गर्न सक्यौँ ।”

पछिल्लो खेलबाट टोलीमा केहि परिवर्तन गर्न जरुरी रहेको बताउँदै उनले भने, “विपक्षी टोलीले पनि हामीलाई अध्ययन गर्छन् भन्ने थाहा थियो । त्यसैले आशिष र सुनिलबारे उनीहरुलाई जानकारी छैन भनेर उतारेको हो । दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गर्न सके । ताइपेइले पनि राम्रो प्रदर्शन गरेको थियो, तर हामीले राम्रो अध्ययन गरेकाले सहज भयो ।”

जितसँगै नेपालले ६ अंक जोडेको छ । नेपाल समूह बीको चौथो स्थानमा छ । ताइपेई हालसम्म अङ्कबिहीन छ । यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो । फिपा बरियतामा ताइपेई १४१ औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ । दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए ।

बिहीबार राति खेल हुँदाका बखतको अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रट थियो । समूह बी मा १२ अङ्कका साथ अस्ट्रेलिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा १० अङ्कसहित कुवेत छ भने १० अङ्ककै साथ जोर्डन तेस्रो स्थानमा छ ।

इराकसितको मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

अब्दुल्लाह अल्मुताइरी प्रशिक्षक रहेको नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास रहेका छन् ।

टिमको मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय