काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेपाली कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गर्ने भएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै आन्दोलित बनेको नेकपा प्रचण्ड माधव पक्षसँग मिलेर काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भएको हो ।यद्यपि ओलीले गरेको संसद् विघटनलाई सर्वाेच्चले फागुन ११ गते नै बदर गरिदिसकेको छ ।
यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल–नेपाल पक्षसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने कांग्रेस स्रोतले बतायो ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रयास गरेको, सुशासन कायम गर्न नसकेको तथा जनमतको सम्मान गर्न नसकेको लगायतका निष्कर्षसहित काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न तयार भएको हो ।
आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने कांग्रेसको योजना छ। यसका लागि कांग्रेस पदाधिकारी बैठकले अन्तिम निर्णय गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।
यसबारेमा औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक बोलाउनुभएको छ भने शुक्रबार संसदीय दलको बैठक बस्दैछ । वर्तमान सरकारले नैतिकरूपमा वैधता गुमाइसकेकोले संसदीय प्रक्रियाबाटै यसलाई विस्थापन गर्नुपर्छ भन्नेमा सहमति बनेको देउवा निकट स्रोतले बतायो ।
प्रचण्ड माधव पक्षसँग छलफल भइसकेको र जनता समाजवादी पार्टीसँग पनि यसबारेमा छलफल भइरहेको जनाइएको छ ।
फागुन ११ गते सर्वाेच्चले संसद पुनःस्थापना गरेर १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो । सोही अनुरुप सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गर्नुभएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेसले नेकपाको दाहाल–नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने गरी तयारी अगाडि बढाइएको हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको दाहाल–नेपाल पक्षसँग मिलेर कांग्रेसले अविश्वास प्रस्ताव अगाडि बढाउने सम्भावनाबारे छलफल सुरु भएको जानकारी दिनुभयो ।
नेकपा विभाजनको प्रतीक्षा सभापति देउवाले गरेको भएपनि प्रधानमन्त्री ओलीको निरन्तरताले नेकपा विभाजनमा ढिलाइ हुने देखेपछि अविश्वास प्रस्तावमा सहमति जुटेको हो बताइएको छ ।
अनौपचारिक रुपमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति भएपनि यसको औपचारिक निर्णय भने गर्न बाँकी छ ।