मुसिकोट, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकास्थित वामी विश्व सम्पर्क मञ्चले शैक्षिक सत्र २०८२ अन्तर्गत विभिन्न विद्यालयका जेहेन्दार तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। मञ्चले आयोजना गरेको कार्यक्रममा महेन्द्र आदर्श मा.वि., त्रिभुवन मा.वि. र शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई नगद छात्रवृत्ति वितरण गरिएको हो।
शुक्रबार आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा महेन्द्र आदर्श मा.वि. र त्रिभुवन माविका विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको मञ्चका महासचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा त्रिभुवन माविकी कक्षा १२ मा नगरस्तरीय सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा सोनिया पछाईले ६ हजार प्राप्त गरेकी छन। उनले ३.७६ जिपिए प्राप्त गरेर नगर प्रथम भएकी थिइन ।
त्यस्तै,महेन्द्र आदर्श माविका कक्षा १२ का प्राविधिक धारतर्फका मन्जित घिमिरे ३.७५ जिपिए र प्रितिका बुढा ३.६२ जिपिए तथा साधारणतर्फका मन्दिरा खराल ३.६३ जिपिए र आविष्कार रायमाझी ३.१७ जिपिए प्राप्त गरेका उनीहरूलाई जनही ५ हजार हस्तान्तरण गरिएको छ।
सोही विद्यालयका कक्षा १० का छात्र आश्रित के.सी. ३.७२ जिपिए र छात्रा एलिसा बुढाथोकी ३.६१ जिपिए प्राप्त गरेका उनीहरूलाई जनही ४ हजार तथा कक्षा ८ का सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थी प्रेम बहादुर राना ३.७३ जिपिए प्राप्त गरेका उनलाई ३ हजार प्रदान गरिएको छ।
यसैक्रममा, मञ्चका अध्यक्ष लगायत समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिमा मुसिकोट–८ वामीमैदानस्थित शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ।
शारदा विद्या मन्दिरमा एसईई २०८२ मा सर्वाधिक जिपिए ल्याउने छात्र दिपेन्द्र नेपाली र छात्रा अस्मी घर्तिमगरलाई जनही ४ हजारका दरले जम्मा ८ हजार प्रदान गरिएको छ। साथै, २०८२ को आधारभूत तह कक्षा ८ मा सर्वाधिक जिपिए ल्याउने छात्रा पूर्णिमा लामिछानेलाई ३ हजार छात्रवृत्ति हस्तान्तरण गरिएको छ।
यही कार्यक्रम मध्येबाट रुद्रावती बहुमुखी क्याम्पसका २ जनालाई छात्रवृत्ति प्रदान गरिने महासचिव सापकोटाले बताउनुभयो । छात्रवृत्ति वितरण गर्नको लागि स्व वुवा ऋषिराम पाण्डे र स्व माता भूमकला पाण्डेको स्मृतिमा साविक वामी ७ ठुलाखर्क निवासी हाल स्पेनमा रहनुभएका लक्ष्मण पाण्डे र कमला पाण्डेबाट ६० हजार रुपैयाँ उपलब्ध गराउनुभएका उहाँलाई वामी विश्व सम्पर्क मञ्चसम्बन्धित विद्यालय तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकले आभार व्यक्त गरेका छन ।
विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक प्रोत्साहनका लागि छात्रवृत्ति प्रदान गरेकोमा शारदा विद्या मन्दिर माविका पूर्व प्रधानाध्यापक ज्ञानहरी सापकोटा र महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले विद्यार्थीहरुलाई छात्रवृत्तिको औचित्य पुष्टि गर्दै वामी विश्व सम्पर्क मञ्चका सम्पूर्ण पदाधिकारी, सौजन्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रममा महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा मञ्चका महासचिव रामचन्द्र सापकोटा,सचिव सुमित्रा भण्डारी,सदस्यहरु गोविन्द सापकोटा,जनक बहादुर थापा,फन बहादुर रायमाझी उपस्थित हुनुभएको थियो भने शारदा विद्यामन्दिर माविमा मञ्चका अध्यक्ष डिलाराम खरेल,उपाध्यक्ष कृष्ण मुरारी सापकोटा,कोषाध्यक्ष कमलप्रसाद खराल,सदस्यहरु राम बहादुर बोहरा र अनुप लाखे लगायतको उपस्थिति रहेको थियो ।
मञ्चले समयसापेक्ष,सामाजिक,शैक्षिक,साँस्कृतिक,धार्मिक विकास निर्माणका कार्य शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमासमेत निरन्तर काम गर्दै आएको छ ।



