मुसिकोट नगरपालिकाले सुरु गर्यो अपाङ्गता परिचयपत्र वितरण

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगर क्षेत्रभित्र वसोवास गर्ने आपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण सुरु गरेको छ ।

नगरपालिकाले २ दिने नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको आयोजना गरी परिचय पत्र वितरणको काम सुरु गरेको हो । पहिलो दिन नगरपालिकाको १ देखि ४ नं वडामा रहेका नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको हो ।

कार्यक्रमको पहिलो दिन ३५ जनालाई परिचयपत्र वितरण गरिएको छ । जसमध्ये क वर्गका ३, ख वर्गका ९, ग वर्गका ११ र घ वर्गका १२ वटा परिचय पत्र वितरण गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सह-सयोंजक पुष्कर गौतमले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाले ‘मुसिकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५’ पारित गरेको छ । कार्यविधि अनुसार नगर उपप्रमुखको संयोजकत्वमा बनेको ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले परिचयपत्र वितरणको काम गर्ने नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

प्रक्रिया पुरा भएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण गरिएको उहाँको भनाई छ ।

नगर उपप्रमुख तथा अपांगता नगर समन्वय समिति गगां श्रेष्ठले परिचयपत्रका आधारमा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहजरुपमा प्राप्त गर्न सक्ने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयको सिफारिस पत्र, सम्वन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकताको प्रमापणपत्रको प्रतिलिपी र फोटोसहित पेश गरेको निवेदनको आधारमा कार्यविधि अनुरुप पूणर् अशक्त अपाङ्गता भएका व्यत्तिले रातो, अति अशक्त अपाङ्गता भएका ब्यक्तिले निलो, मध्यम अपाङ्गता भएका ब्यक्तिले पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गरेका छन् ।

परिचय पत्र वितरणको दोश्रो दिन बिहिवार वडा नं ५ देखि ९ नं वडासम्मका नागरिकहरुलाई परिचय पत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय