भेरोसेलको दोस्रो मात्रा खोप लगाउन सुरु

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदैछ ।

भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् ।

एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने छन् ।

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा शर्माले बताउनुभयो ।

दोस्रो डोजको लागि काठमाण्डौ उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाण्डौ महानगरभित्र १३ वटा र काठमाण्डौका अरु पालिकामा दुई÷दुई ठाउँमा खोप केन्द्र तोकिएको छ ।

भक्तपुरको ३८ वटा ठाउँमा खोप केन्द्र छन् । ललितपुरमा पालिकालाई खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय