३ वर्ष पहिले ७० लाखको सभाहल बन्यो तर सभा हुन सकेन

गुल्मी । न कुर्सी, न टेवल, न त भुईमा कार्पेट । एउटा फाटेको चारपाई धुलाम्मे भुई,रङ्गहिन चिथोरिएका भित्ता,

पानी पर्यो भने धरधरी चुहिने खिया लागेको फलामको ट्रस्ट माथी टिनको छानो, वरिपरि पशु चौपायाले फोहोर गरेको भुई, छेवैबाट बेरुप हुनेगरी भत्किएको स्वरुप । नागरिकको आशा चुर्लुम्मै डुब्यो ।

बन्दै गरेको एउटा संरचनाले बनिसकेको अर्कोलाई समेत क्षति पुर्यायो ।

यो यथार्थ हो गुल्मिको रुरुक्षेत्र गाउँपालिकाको ७० लाखमा निर्मित सभाहलको । संविधान अनुसार संघिय संरचनामा देश गएको र स्थानिय तहमा निर्बाचन भएको पनि ४ वर्ष पुग्यो ।

जिल्लाको १२ वटा स्थानिय तह मध्येको रुरुक्षेत्र गाउँपालिकाको केन्द्र वडा न. ४ को ध्यूबेसी अर्थात ध्यूसेमा तोकिएको थियो ।

त्यसो त त्यहाँ कुनै भौतिक संरचना थिएनन । ग्रामिण क्षेत्रका धेरै पालिकाको अबस्था उस्तै थियो । कुनैले त फेरे केहिको अबस्था उस्तै छ अहिलेसम्म पनि । रुरुको नाम फेरिएर रुरुक्षेत्र बन्यो तर अबश्था फेरिएन गाउँपालिकाको लागि कुनै स्थायी संरचना बन्न सकेनन ।

खासै बिबादमा नपरेका, सरल जीवनशैली र पारदर्शी छवि भएका अध्यक्ष निलकण्ठ गौतमलाई यतिबेला सभाहल टाउको दुखाइको बिषय बनेको छ ।

३ वर्ष पहिले लुम्बिनी प्रदेश सरकारले रुरुको सभाहल निर्माणको लागि बजेट बिनियोजन गर्यो । प्रदेशको आर्थिक तथा योजना मन्त्रालयको ७० लाखमा भवन त बन्यो तर त्यस्को अझैसम्म सदुपयोग भएन ।

यस्तै प्रकृतिको बजेटबाट निर्मित सभाहललाई अन्य पालिकाले बहुवर्षिय योजना बनाएर थप ३० लाख बजेट प्रदेश सरकारबाट नै थप गरि एक करोडको काम गरेका छन ।

तर त्यहाँबाट समयमै काम सम्पन्न र पहल भएन जानकारहरु भन्छन । यो सभाहलको बाहिरी संरचना भएपनी भवन भित्र न बस्ने कुर्सी बनाइयो न त टेवल नै । देख्दा लाग्छ त्यो प्रदेश सरकारको बजेट भ्याउन मात्र काम गरिएको थियो ।

भित्री भित्ताका नछोपिएका नाङ्गा ईटामा रङ्गरोगन त गर्ने कुरै भएन, भित्र डेकोरेसन पनि भएन ।

पालिकाको केन्द्र तोकिएको स्थानबाट करिब १ किलोमिटर टाढा बरपिपल भन्ने ठाउँमा सभाहल निर्माण भएको छ । सांघुरो ठाउँमा भएको हुनाले निर्मित हलको छेउबाट पहिरो खसिरहन्छ ।

त्यो पहिरोबाट बलेटक्सार रिङ्गरोड अन्तरगतको मोटरबाटो वर्षातको समयमा कहिलेकाही थुनिने र सधैजसो हिलाम्मे हुन्छ ।

नागरिक यतिबेला सभाहलको भन्दा पनि भैरहेको ओहोरदोहोर गर्ने बाटो बिग्रीएको गुनासो गर्छन । सभाहल भन्दा पनि सभाहल बनेपछि बाटो नै खत्तम बनायो भन्छन स्थानिय खड्ग श्रेष्ठ ।

जे जति विकासका काम गर्न सकिन्छ,सम्पन्न गर्ने गरि गराै । बजेटको पनि सदुपयोग हुने जनतालाइ पनि राहात हुने गरि गर्दा राम्रो हुन्छ तर यो त बिजोग भयो भन्छन राम प्रसाद पाण्डे ।

जबसम्म गाउँपालिकाको भबन बन्दैन तबसम्म यस्को रेखदेख पनि हुँदैन जस्तो छ, यति धेरै बजेटको सभाहल बनाएर आजसम्म यो प्रयोग नै भएको छैन, भवनको निकै दुर्दशा भएको छ स्थानिय धर्म पौडेलले भने । यतिबेला यो सभाहल स्थानिय युवाहरुमा निकै ठूलो बहसको बिषय बनेको छ ।

एकजना स्थानिय युवाले चन्दा उठाएर भएपनी निर्माण कार्य पूरा गर्न पाए हुन्थ्यो भनेका छन । केहिले त भाडामा लिएर पार्टी प्यालेस बनाउने या गाईपालन गर्ने जस्ता कुरासम्म गर्न भ्याएका छन ।

पालिकाको सभा बैठक तालिम गर्नु पर्दा कहिले क्याम्पस त कहिले विद्यालयको हलमा जानुपर्ने हुन्छ । एकातिर ४ वर्षसम्म पालिका कार्यलयको स्थायी संरचना नबन्नुले आशंका पैदा गरेको र अर्कोतिर निर्माण सम्पन्न भएको सभाहललाई पनि प्रयोग नगरी अलपत्र छाडेर अन्यन्त्र सभा बैठक गरिनुले पालिकाको नेतृत्वप्रती नै गम्भीर प्रश्न उठेको स्थानियहरुको आक्रोश रहेको छ ।

गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले प्रदेशले थप बजेट नदिएर काम पूरा गर्न नसकेको बताउँछन । उनी भन्छन, हामिले पालिकाको बजेटले कति भ्याउनु, यहिबेला महामारी आयो, प्रदेशले नै तपाइहरुले लेखेर, इस्टिमेट गरेर पठाउनु, बजेट माग गर्नु हामी बजेट दिन्छौ भन्यो ।

अर्थ सचिबलाई पनि हामीले ल्याएर देखाएको हो तर बजेट पठाएनन उनले गुनासो गरे । फर्निचरको बिषयमा अध्यक्ष गौतमले फर्निचरवालाले कमिसन मागेको थियो मैले नदिएको हुनाले मलाई नै गाली गर्दै हिड्यो उनले भने ।

स्थानिय नै भए पनि उनले कुन फर्निचर बताउन चाहेनन । गाउँपालिकामा धेरै राम्रा काम भएका छन त्यसलाई कसैले देख्दैनन एउटा अपुरो भएको काममा सवैले कुरा काट्छ्न उनले भने । गाउँपालिकाको भवनको पनि टेन्डर भै सकेको हुनाले कसैले पनि काममा शंका नगर्न उनले भनेका छन ।

गाउँपालिकाले बिधालय भवन बनायो, खेलमैदान बनायो, सडकहरु बनाएको छ, खै राम्रा बनेका योजनातिर त कसैको नजरै छैन ।

कता अलिकती बिग्रीन्छ,भत्किन्छ भनेर पर्केर बस्छ्न । तर युवाहरुले सजग बनाउनु भन्नू बिग्रेको देखाउनु राम्रो हो यसले विकासलाई नै टेवा पुर्याउने र आफुलाई पनि थप कृयाशिल बनाउने उनी बताउछन ।

कुनैपनी संरचना नभएको हुनाले आफुलाई काम गर्न अप्ठारो भएको उनको भनाई छ । यसवर्ष सभाहललाई पालिकाकै बजेटबाट भएपनी काम सम्पन्न गरेर प्रयोगमा ल्याउने उनले दाबी गरे ।

सभाहल निर्माणको लागि कुनै ठेक्का वा टेन्डर नगरी उपभोक्ता समितीले नै निर्माण कार्य गरेको बताउँछन उपभोक्ता समितिका सचिब बिरवल पुरी । तीन वर्ष पहिले प्रदेश सरकारबाट ७० लाख बजेट बिनियोजन भयो ।

हामी उपभोक्ता समिती मार्फत काम गरियो । बजेट ७० लाख भएपनी सबै कर, कन्टेन्जेन्सी काटेर निकासा ५९ लाख मात्र भएको सचिब पुरिले बताए । हामीले यहाँ निकै पारदर्शी काम गरेका छौ, यस्तो काम त सायद अन्यत्र हुँदैन उनले जिकिर गरे ।

जहाँ सभाहल बनेको छ, त्यहाँ भिरालो जमिन, पहाड थियो त्यसैले घडेरी सम्याउनकै लागि हामिलाई धेरै बजेट खर्च भयो उनले भने । ईस्टिमेटमा जे जे उल्लेख गरिएको छ हामीले सबै सम्पन्न गरेका छौ । भवन भुकम्परहित बनाएका छौ पुरिले भने ।

फाउन्डेसनमै धेरै बजेट सकिएको हुनाले काम देखिएन, बजेट मात्रै देखियो उनले गुनासो गरे । आजसम्म कुनैपनी स्थानियले यो भएन भनेर बिरोध नगरेको तर अहिले केही ब्याक्तीहरुले पालिकालाई बदनाम गराउन खोजेको उनको दाबी छ ।

पानी त चुहिँदैन तर छेउबाट पहिरो खसिरहने र तल मोटरबाटो भएको हुनाले आवतजावत गर्न कहिलेकाही अप्ठ्यारो भएको उनले बताए । प्रदेशबाट प्राबिधिक टोलि आएर सबै डिटेल उतारेर लगेको छ, छिट्टै नै बजेट आउँछ र हामी सभाहलको अपुरो काम सम्पन्न गर्ने योजनामा छौ, पुरीले भने ।

अहिले केही ब्याक्तीले आफुहरुलाई समेत बदनाम गराउन खोजेका छन तर त्यो कदापि सम्भव छैन । हामीले आर्थीक रुपमा पारदर्शी भएर काम गरेका छौ सचिब पुरिले भने ।

गाउँपालिकाका ईन्जिनियर मिलन श्रेष्ठले सभाहलको बारेमा आफुलाई खासै केही थाहा नभएको भनेर उम्किए । आफू पालिकामा आएको एक डेढ वर्ष मात्रै भएको आफू आउँदा नै सभाहल त्यस्तै थियो अहिले पनि त्यस्तै छ, म यसबारेमा त्यति जानकार छैन उनले भने ।

सभाहलको फिनिसिङको काम केही भएको छैन, कतैबाट बजेटपनी आएको छैन उनले भने । साथै त्यतिबेलाका ईन्जिनियर तथा अन्य प्राबिधिक पनि सरुवा भै सकेको उनले बताए । बाँकी काम गर्नको लागी प्रदेशमा पहल भएको तर गाउँपालिकामा के भैरहेको छ त्यसबारे मलाई केही थाहा छैन श्रेष्ठले भने

नागरिकको करबाट बनेको यति ठूलो बजेटको योजना काम नलाग्नु, अलपत्र पर्नु पक्कै पनि दु:खद बिषय हो । समयमै सम्बन्धित सरोकारवालाहरुको ध्यान पुगोस । योजना सम्पन्न होस, जनताको गुनासो खुशिमा परिणत होस शुभकामना ।- खुल्ला न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय