काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरे साथ दिने बताउनुभएको छ ।
यसअघि एक सन्देश जारी गर्दै पार्टी फुटाएमा नेपाललाई साथ दिने बताउनुभएका उहाँले विहिबार पनि सोही अभिव्यक्ति दोहोर्याउनुभएको हो । नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गरे साथ दिने बताउँदै आएका गौतमले बिहीबारको एक भर्चुअल छलफलमा पनि आफ्नो पुरानै कुरा दोहोर्याउनुभएको हो ।
गौतमले बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासंग भर्चुअल छलफल गरेका गर्नुभएको थियो। छलफलमा सहभागी एक बुद्धिजीविका अनुसार नेता गौतमले ओलीलाई साथ दिन नसकिने बताउनुभएको हो ।
ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन गरेर एकपछि अर्को गर्दै प्रतिगमन निम्याएकाले साथ दिन नसक्ने नेता गौतमको भनाइ थियो। ‘केपी कमरेडले एकपछि अर्को गर्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको यात्रामा हुनुहुन्छ।
त्यस्तो अवस्थामा उहाँलाई साथ दिन सक्दिन’, गौतमको भनाइ उद्धृत गर्दै भर्चुअल छलफलमा सहभागी ती बुद्धिजीविले भने, ‘माधव कमरेड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्दै हिड्नु भएको छ।
यस्तो अवस्थामा दुवै जनालाई साथ दिन सक्दिन। यदि माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरे त्यसमा मेरो पूर्ण साथ समर्थन हुन्छ।त्यो मैले भनिसकेको छु। आफ्नो बचनबाट दायाँबायाँ हुन्न।’