ओली र नेपाल दुबै समूहको  बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधव नेपाल समूह दुबैको बैठक आज (बिहिबार) छुट्टाछुट्टै बस्दै छ ।

स्थापन पक्षले स्थायी कमिटी र खनाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । संस्थापन पक्षको स्थायी कमिटी अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । अस्ति मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

यस्तै नेकपा एमालेको खनाल–नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल–नेपाल समूहका नेताहरुले बताएका छन् ।

२०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताउनुभएको छ । तर त्यसका लागि संविधानको धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै खनाल–नेपाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने उहाँको सर्त छ ।

यस्तै नेता माधव कुमार नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको भन्दै प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्नुपर्ने अर्को सर्त अघि सार्नुभएको छ । पार्टी विभाजनको संघारमा पुगेकै बेला दुवै पक्षका दोस्रो तहका नेताहरु एकता जोगाउन भन्दै निरन्तर छलफलमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय