अलमल नगरी नयाँ पार्टी दर्ता गर्नुस, नेपाललाई भातृ संगठनको आग्रह

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय भातृ संगठनका नेताहरुले अलमल नगरी नयाँ दल दर्ता गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

अहिले ओली पक्षले वार्ता गर्न खोज्नु भनेको पदको लागि आफूहरुलाई प्रयोग गर्ने र अन्त्यमा धोखा नै दिने प्रपन्च भएको भन्दै उनीहरुले अलमल नगर्न नेताहरुलाई आग्रह गरेका हुन् ।

एमालेको माधवपक्षीय समानान्तर भ्रातृ संगठनहरुको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने समेत बताए ।

माधव नेपालको प्रमुख आतिथ्यतामा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव माधव नेपाललाई दिएका छन् ।

एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई फिर्ता ओली पक्षसँगको वार्ताबाट फिर्ता आउन उनीहरूले आग्रह गरेका छन् ।

बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले एकता र वार्ताका नाममा अलमलिँदा आफ्नै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गरेको भन्दै यसो हुन नदिन चाँडै दल दर्ता गर्न आग्रह गर्नुभयो ।

माधवपक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक भएको बताउनुभयो ।

ओली एकता विरोधी हुन् भन्ने कुरा बाहिर स्थापित गरेर पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिनुभयो ।

सहअध्यक्ष ओसिम आलमले बैठकमा भन्नुभयो, ‘माधव नेपालले सही गरेको ठाउँमा सही नगर्ने नेताहरु केपी ओलीभन्दा खराब हुन् । हामीलाई हाम्रै नेताहरुबाट धोखा त भइरहेको छैन ?’

किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय