राजा वीरेन्द्रको बंश नाश भएको २० वर्ष पूरा

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय अवस्थामै रहेको छ । जेठ १९ को कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, शान्ती, शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन हुनुभयो । उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभएको छ ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय