कोरोना नियन्त्रणका लागी गुल्मीमा लकडाउन थपियो, अटेर गरे जेल!

गुल्मी । कोरोनाभाइरस महामारी समुदायस्तरमा फैलिएको कारण यसको चेनब्रेक गर्ने उद्धेश्यसहित गुल्मीमा लगाइएको लकडाउन लम्बाइएको छ ।

प्रमुखजिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । १४ गते अर्थात आज सकिन लागेको लकडाउन अब जेठ २४ गतेसम्म थपिएको छ । यसअघिको भन्दा अहिलेको लकडाउन अझै कडा गरिने जनाइएको छ ।

पेट्रोलियम पदार्थ, दुध डेरी, खाद्यान्न, तरकारी फलफूल, माछा, मासु र निर्माण सामग्रीहरुको पसल हरेक दिन विहान ९ बजेसम्म खुला गर्न पाइनेछ । त्यस्तै जिल्लाभित्र निर्माण सामग्री बोक्ने टिप्पर , ट्रक र ट्याक्टर सुरक्षा सावधानी अपनाएर चल्न पाउने भएका छन् । अत्यावश्यकीय तथा मानवीय कार्य बाहेक अन्य कामको लागि बैंक र वित्तिय संस्था बन्द हुनेछन् ।

स्थानीय तहसँग समन्वय गरी ग्रामीण क्षेत्रमा रहेका बैंकहरुले सेवा प्रदान गर्न सक्नेछन् । जिल्ला बाहिरबाट निर्माण तथा खाद्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम अनुसार प्रबन्ध मिलाउने निर्णय भएको छ । हालसम्म जिल्लामा १२५८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिएका छन् । हालसम्म सक्रिय संक्रमित ६९६ रहेको जिल्लामा मृत्यु हुनेको संऋया ७५ पुगेको छ । यस्तै हालसम्म जम्मा संक्रमितको संख्या २०२९ पुगेको छ ।

अटेर गरे कारवाही- अनुमति बिना मोटरसाइकल चलाए २ हजार र गाडी चलाए ५ हजार जरिवाना तत्कालै कटाइनेछ । त्यस्तै मास्क नलगाइ निषेधित समयमा हिड्नेलाई २ सय र अन्य समयमा पटकै पिच्छे १ सय जरिवाना लिइनेछ ।

त्यस्तै अध्यादेश बमोजिम कार्य गर्न अवरोध गरे १ बर्ष जेल वा ५ लाख जरिवाना हुने नियम बनाइएको छ । दुवै सजाउ पनि हुन सक्ने चेतावनी दिइएको छ । त्यस्तै अध्यादेश बमोजिम मापदण्ड पालना नगरे ६ महिना कैद वा ३ लाख जरिवाना, अथवा दुवै सजाय, कुनै संस्थाले यो आदेश पालना नगरे ५ ला तत्काले जरिवाना तिराइनेछ ।

माथि उल्लेख नभएका तर अध्यादेश विपरीत काम गरे प्रजिअले ६ महिनासम्म थुन्न सक्ने नियम बनाइएको छ । यसअघि संक्रमक रोग ऐन २०२० अन्तर्गत कारवाही गर्ने गरिएकोमा सरकारले एक हप्ता अघि जारी गरेको नयाँ अध्यादेशमा नियम कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय