कोभिड नियन्त्रणका लागि गल्कोट समाज यूकेले पठायो अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री

लण्डन । गल्कोट समाज यूकेले स्वदेशमा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न सहयोग गर्ने हेतुले वाग्लुङ जिल्ला गल्कोट नगरपालिका र ताराखोला गाँउपालिकामा सेवा दिइरहेका कोभिड अस्पतालहरूलाई अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गरी हस्तान्तरण गरेको छ ।

गलकोट नगरपालिका प्रमुख भरत गैरे र ताराखोला ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगरको उपस्थितीमा समाजका कार्यकारिणी समितिका सदस्य तेज बहादुर भण्डारीले २ थान अक्सिजन सिलिन्डर गल्कोट कोभिड अस्पताल र एकथान अक्सिजन सिलिन्डर ताराखोला कोभिड अस्पतालको लागि प्रदान गरेका हुन् ।

सिलिण्डर लगायत अन्य स्वास्थ्य सामाग्री समेत गरि जम्मा एकलाख पचास हजार मूल्य बराबरको सहयोग सोमबार एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको समाजका उपाध्यक्ष समेत रहेका सक्रिय अभियन्ता भोजराज कंडेलले लण्डन नेपाल न्यूजलाई बताए ।

परदेशमा रहेपनि मन सधै स्वदेशतर्फ नै हुन्छ’, उनले भने, ‘यो अत्यालाग्दो समयसँग जुध्नको निम्ती स्थानीय साधनस्रोतलाई बल दिनु हाम्रो कर्तव्य हो ।’

आफ्नो स्थापनाकाल देखि नै गलकोट वा नेपालका अन्य भू–भागमा आइपर्ने मानवीय तथा दैवी प्रकोपका घटनाहरुमा सहयोग पुर्याउदैं आएको यस संस्थाले कोभिड महामारी नियन्त्रणमा सहयोग पुर्याउने हेतुले नै नेपाली वैज्ञानिक महाबिर पुनले सञ्चालन गरेको ‘राष्ट्रिय आविष्कार केन्द्र’लाई २ लाख रुपैया सहयोग गरेको थियो ।

समाजका अध्यक्ष राजु कंडेलले बेलायत नेपालीहरुवीच समन्वय गर्दै आगामी दिनहरुमा पनि गलकोटमा कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गलकोट समाज यूकेद्वारा सन्चालित कोभिड राहत कोषमा आर्थिक सहयोग गर्ने सम्पूर्ण बेलायतबासी नेपालीहरुमा समाजले धन्यवाद समेत व्यक्त गर्दै आगामी दिनमा संस्थाले चालेका अभियानमा साथ दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय