काठमाडौं । कोरोनाका कारण नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिसरा घर्तीमगरको मृत्यु भएको छ।
घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत संघसंस्थामार्फत सामाजिक सेवामा पनि आवद्ध हुनुहुन्थ्यो ।
कोरोना संक्रमणपछि उनलाई गत जेठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिस गरिएको थियो। बेलझुण्डी अस्पतालमा उपचाररत घर्तीको बिहान ५ बजे मृत्यु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिनुभयो ।
कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन्। यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाको मृत्यु भइसकेको छ।