काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास नगर्नु पर्ने कुनै कारण नरहेको बताउनुभयो ।
संसदमा विश्वासको मत लिने प्रस्तावको औचित्य पुष्टि गर्ने क्रममा प्रधानमन्त्री आलीले राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, भौगोलिक र अखण्डताको पक्षमा उभिएको सरकालाई विश्वास गर्नु नपर्ने कुनै कारण नै नरहेको बताउनुभएको हो ।
‘सांसदले आफू कहाँ संलग्न छु, आवद्ध छु भनेर होइन सत्यलाई पछ्याएर निर्णय लिनुपर्छ। सत्यलाई विश्वास गर्ने हो भने अहिलेको सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण छैन, उहाँले भन्नुभयो, राष्ट्रियताको पक्ष, राष्ट्रिय हितको पक्षमा, भौगोलिक अखण्डताको पक्षमा, उभिएको सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण नै छैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईमा सरकारले कसैको पनि साथ नपाएको बताउनुभयो । विश्वलाई नै आक्रान्त बनाएको कोभिडविरुद्धको लडाईमा सरकार लागि परेको तर कसैले पनि साथ नदिएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकारले कोभिडविरुद्धको लडाईमा, विकासका काममा, सामाजिक जनजीवनमा क्षति हुन नपाओस भन्नेमा केन्द्रित भएपनि विपक्षीहरु कसैले पनि साथ नदिएको र सरकारले अनेक अप्ठ्यारा सामना गर्नुपरेको बताउनुभयो ।
‘हामी कोभिड विरुद्धको लडाइमा छौँ, प्रधानमन्त्रीमाथि, सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको स्वास्थय सामग्री खरिदमा भएको भष्ट्राचारको नाममा अनूचित काम भइरहेको छ ।’, उहाँले भन्नुभयो ।
एउटा पनी पीसीआर टेस्ट गर्ने क्षमता नभएको देशमा हाल ८६ ठाँउबाट परीक्षण गर्न सकेको अवस्था रहेको बताउनुभयो । न्यूनतम आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्थामा रहेको देशलाई कोभिड विरुद्ध शसक्त बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, सरकारको ध्यान यतिवेला कोभिड १९ को रोकथाम र उपचारमा केन्द्रित छ र आवश्यकता अनुसार आफ्ना यसविरुद्ध लडाईका कदमहरुलाई प्रभावकारीका रुपमा अगाडी बढाइएको छ ।
प्रधानमन्त्रीले कोभिडको कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
विचार फरक भएपिनि कोभिड नियन्त्रणमा साथ दिन सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।- ज्योतिन्यूज