कोरोना संक्रमण बढ्न नदिन आजबाट आलोपालो सेवा सुरु

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन बाग्लुंग सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् ।

आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् ।

नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ । सदरमुकाममा २८ वाणिज्य्विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन् ।

न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बैंकर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो ।

प्रभु बैंकले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउण्टर सञ्चालन गर्ने जनाइएको छ । सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ ।

एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैंकहरूलाई आग्रह गरेको छ । बागलुङ नगरपालिकामा मङ्गलबारदेखि दश दिनसम्मलाई निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासनले खाद्यन्न, तरकारी, फलफूल, दूध, मासुलगायत दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । अन्य पसल, व्यवसाय बन्द छन् ।

अत्यावश्यकबाहेकका सवारीसाधन पनि ठप्प छन् । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि निषेधाज्ञालाई थप कडा तुल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पत्र पनि वितरण नगर्ने निर्णय गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० नाघेको छ ।

अधिकांश सङ्क्रमित होम आइसोलेशनमै रहेपनि गम्भीर लक्षण लिएर अस्पताल पुग्ने सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढ्दो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय