गुल्मीमा मास्क नलगाई हिँड्ने ३५४ जना प्रहरीको नियन्त्रणमा

गुल्मी : गुल्मीमा मास्क नलगाई सडकमा लखरलखर हिँड्ने ३५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमा हिँडने र सवारी साधनमा यात्रा गर्नेहरुले मास्क नलगाएको पाइएकाले मास्क लगाए पश्चात १५ मिनेट सम्झाई बुझाई मात्र पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । ३५४ जनामा सडकमा मास्क नलगाई हिड्ने बढी रहेको र मोटरसाइकल चालक देखि अन्य सवारी चालकहरु पनि रहेको प्रहरीले जनाएको छ ।

कोरोना माहामारीको समयमा सबैलाई मास्क लगाउन आग्रह गरिएको र यदि कसैले अटेर गरेमा उनीहरुलाई कानुन अनुसारको कारवाही गर्ने पनि प्रहरीले जनाएको छ ।
यस्तै ट्राफिक प्रहरीले सवारी साधनहरुमा समेत चेकजाँचमा कडाई गरेको छ । सवारी साधनहरुले सिट क्षमता भन्दा बढी यात्रु राखे नराखेको र मास्क लगाएको नलागाएको बारेमा पनि चेक जाँच गरिएको ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

गुल्मीमा अहिले संक्रिय संक्रमितको संख्या २१३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण कारण पछिल्लो चरणमा ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
यस्तै गुल्मीमा शनिवार(आज)राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा अबज्ञा गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ ।- खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय