दुइ सय २० घरको मुआब्जा दिन नसक्दा कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाइ भएको छ ।
गैंडाकोटदेखि पाल्पाको राम्दी खण्डमा पर्ने २ सय २० घरपरिवारलाई मुआब्जा दिनुपर्ने फाइल दुई महिनादेखि केन्द्रीय मन्त्रिपरिषद्मा रोकिँदा निर्माणकार्य अघि बढ्न नसकेको हो ।

मुआब्जाका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्छ । त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा वितरण गर्ने व्यवस्था छ ।
उक्त खण्डको रूख कटानसम्बन्धी फाइल पनि वन मन्त्रालयमा गएर रोकिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट–राम्दी–मालढुंगा सडक योजनाका प्रमुख इन्जिनियर सुबोधकुमार देवकोटाले घरटहरा सारेर, रूख कटान गरेर मात्र सडक निर्माण सुरु गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या थपिएको बताए ।
निर्माण सुरु हुनुअघि नै सक्नु पर्ने काम थाती राखेर योजना अघि बढाइएका कारण यसले गति लिन सकेको छैन,’ उनले भने ।
करिडोरको गैंडाकोट–मालढुंगा २ सय ९७ किलोमिटर खण्डको निर्माणकार्य भारतीय कम्पनी इकेके प्रालिले गरिरहेको छ । २०७९ असार मसान्तमा काम सक्नेगरी साढे ५ अर्ब रुपैयाँमा उसलाई ठेक्का दिइएको हो ।
भारतीय एक्जिम बैंकको ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको छ ।