काठमाडौँको तुवाँलो र प्रदूषण कहिलेसम्म ? के भन्छन यस बारे मौसमविद्हरू ?

काठमाडौँ । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा देखिएको बाक्लो तुवाँलो केही दिन निरन्तर रहने देखिएको छ ।

आकाश धुम्म भएको छ । न राम्ररी घाम लाग्न सकेको छ, न त बेस्सरी हावा नै चलेको छ।चैतमा पनि बाक्लो जाकेट लगाउनु पर्ने गरी चिसो बढेको छ। हावामा प्रदूषणको मात्रा पनि उत्तिकै छमौसमविद्हरूका अनुसार कम्तिमा पनि सोमबारसम्म काठमाडौं उपत्यकाको आकाश अहिलेजस्तै धुम्म भइरहने छ।

स्थिर रहेको वायुमण्डल आगामी दुईतीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायुप्रदूषण बढेको हो ।

मंगलबारदेखि केही खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि घाम लागेपछि सतहको जमिन तातेर हावामाथि गएर सानोसानो क्षेत्रमा हावाहुरी र पानी चल्ने यो बेला अहिले भने काठमाडौंको वायुमण्डल स्थिर भएर बसेको छ।

अहिले एकातिर आकाश धुम्म भएको छ भने अर्कातिर हावामा प्रदूषणको मात्रा धेरै नै छ। गत सातादेखि बढेको प्रदूषणको मात्रा आइतबारसम्म घटेको छैन।

आइतबार काठमाडौंसहित देशका अधिकांश सहरमा वायु प्रदुषण खतराको तहमाथि छ। वातावरण विभागको तथ्यांकअनुसार चितवनको सौराहामा एयर क्वालिटी इन्डेक्स ३६४ छ भने ललितपुरको भैंसेपाटीमा ३२१ छ। त्यस्तै भक्तपुरमा २८३, टियू कीर्तिपुरमा २६८, धनगढीमा २५७ र पोखरामा २३५ छ।

हावामा प्रदुषणको मात्रा एयर क्वालिटी इन्डेक्स (एक्युआई) मार्फत् नापिन्छ।

एक्युआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्युआई१५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्युआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।

अहिलेको वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर देखापर्ने भएको कारण सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।- ज्योतिन्यूजको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर