नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा, कति छ हाल सक्रिय संक्रमित

काठमाण्डौ – नेपालमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा एक सय २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ९४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६९ हजार आठ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ८० जनालाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आइतवार सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका ४९ जना रहेका छन् । उपत्यकामा काठमाण्डौमा ३६, भक्तपुरमा दुई र ललितपुरमा ११ जनालाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आइतवार सङ्क्रमण पुष्टि भएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ६१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर