संसद पुनर्स्थापना भए फेरि आन्दोलन  अगाडि बढ्छ : प्रधानमन्त्री ओली

विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासले फैसला गर्नुपूर्व देश निर्वाचनमा गइसकेको सन्देश दिन नेकपा ओली समूहले विराटनगरमा शनिबार सभा गर्‍यो ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं समूहका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले प्रयोग गरेको शब्दको हो- सेटिङ । ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडेको भन्दै प्रचण्ड-माधव समूहका शीर्षनेताहरुले खबरदारी गर्दै आएका छन् ।

तर, शनिबार बिराटनगरमा ठीक उल्टो सुनियो । चुनाव हुन्छ-हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए ।

ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’

अदालतले देशभरको सभा हेरोस्
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए सांसद किनबेच तथा सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका छन् ।

देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला ।’

ओलीले अगाडि भने, ‘संविधानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

प्रधानमन्त्री ओली सभास्थलमा पुग्दै गर्दा पूर्वसभामुख समेत रहेका ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको र फागुन ११ देखि १५ गतेभित्र फैसला आउने सुनाइरहेका थिए ।

सिङ जुरो हालिदिएँ

प्रधानमन्त्री ओलीले आफूले सिङजुरो हाल्दिएपछि प्रचण्ड अहङ्कारी बनेको टिप्पणी गरेका छन् । । ‘२-४ सिटमा सिमत हुने प्रचण्डलाई एउटा जुरो हालिदिएको थिएँ ।
फेरि सिङ हालिदिएको थिए’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

‘प्रचण्डजीको त मलाई माया लाग्छ, पहिले उहाँसँग बैद्य हुनुहुन्थ्यो,’ उनले अघि भने ‘बैद्यले छाड्नुभयो । त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले पनि छाड्नुभयो । अहिले त झाँक्री लिनु भा’को छ, झाँक्रीले अब बचाउन सक्दैन ।’ उनले झाँक्री भनेर प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कटाक्ष गरेका हुन् ।

कार्यकर्ता आउँदैछन्

शनिबारको सभामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की प्रदेशसभा सदस्य उषाकला राई आफ्नो समूहमा फर्किएको औपचारिक जानकारी दिइयो ।

तत्कालीन एमालेमा माधवकुमार नेपाल निकट मानिएका तामाङ र राई नेकपा विभाजन हुँदा ओली समूहतिर थिए । तर, केहीदिनमै प्रचण्ड-माधव समूहमा लागे । तामाङ-राई दम्पत्ति शनिबार फेरि ओली समूहतिरै लागेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टीमा नेता-कार्यकर्ता र्फकने क्रम जारी रहेको बताए ।

सभासभालाई सम्बोधन गर्दै ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले अस्थिरता सृजना गर्न खोजिएपछि प्रतिनिधिसभा भङ्ग गरेर ताजा जनादेशमा जाने निर्णय भएको बताए ।

ताजा जनादेशमा जाने निर्णय अग्रगामी भएको बताउँदै उनले अवसरवादीहरुले अस्थिरता सिर्जना गर्न खोजेको बताए ।- अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय