संसद विघटनका विषयमा संवैधानिक इजलासलाई एमिकस क्युरीको बहस आज पनि

काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ ।गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो ।

पहिलो दिन बदि्रबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो ।खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए ।
मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गरेका थिए । आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् ।

एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ ।

एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।

सर्वोच्चले यस विषयमा राय लिनका लागि पाँच सदस्यीय एमिकस क्युरी झिकाएको थियो । एमिकस क्युरीमा नेपाल बार एसोशिएसनका तर्फबाट बदि्रबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।

यसैगरी सर्वोच्च अदालत बार एसोशिएसनको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला एमिकस क्युरीमा छन् ।-अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय