बादल र रायमाझीले घसेको खरानीको मूल्य कति ?

काठमाडौं । २०७६ सालको जेठ १५ गतेको बजेटले मन्त्रीहरूको तलब बढायो । त्यसअघि ६० हजार ९ सय ७० प्रतिमहिना तलब खाइरहेका मन्त्रीहरूको तलब बढेर ७१ हजार ९ सय ४५ पुगेको थियो ।

त्यसयता मन्त्रीहरूको तलब बढेको छैन ।एकजना मन्त्रीले राज्यकोषबाट तलब मात्र लिँदैन। सचिवालयमा रहने ७ जना कर्मचारीको तलब प्रतिमहिना १ लाख ६० हजार हाराहारीमा हुन्छ। घरभाडाबापत मासिक ४० हजार राज्यकोषबाट जान्छ भने बिजुली, पानी र टेलिफोनबापत १५ हजार एकजना मन्त्रीका लागि खर्च गरिन्छ ।

त्यस्तै मासिक इन्धनका रूपमा २ सय ७ लिटर पेट्रोल उपलब्ध गराइन्छ । अहिले एक लिटर पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ छ । यसहिसाबले पेट्रोलमा मात्र मासिक खर्च २३ हजार १ सय ८४ रुपैयाँ खर्च हुन्छ ।

उपत्यकाबाहिर भ्रमण जाँदा दैनिक भत्ता ५ हजारका दरले उपलब्ध गराइन्छ ।

त्यस्तै फर्निचरका लागि एकजना मन्त्रीलाई एकमुष्ट २ लाख रुपैयाँ राज्यकोषबाट खर्च गर्ने गरिन्छ । सबै खर्च गर्दा एकजना मन्त्रीको सालाखाला मासिक खर्च ३ लाख १० हजार १२९पर्न जाने रहेछ ।

यसमा भ्रमण भत्ता जोडिएको छैन । निसन्देह मन्त्रीले अख्तियार दुरुपयोग गरेर कमाउने रकम यसमा जोडिने कुरा भएन।

सबै भन्दा बढी खरानी घस्ने बादल र रायमाझी
संसद विघटनअघि पार्टी एउटै थियो। पार्टी एकीकरण हुने प्रक्रियामा प्रचण्ड कै सिफारिसमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बने ।

प्रचण्डले चाहेको भए गृहमन्त्री बादल बाहेक जो कोही पनि हुन सक्थ्यो ।

तर संसद विघटनपछि ओली खेमामा लागेका टोपबहादुर रायमाझी ऊर्जामन्त्री बनेका छन् । उनी अघिल्लोपटक ऊर्जामन्त्री हुँदा १८ घण्टासम्म देशमा लोडसेडिङ हुने गर्थ्यो ।

उनले छोडेपछि मन्त्रालय सम्हालेका जनार्दन शर्माकै पहलमा नेपाल विद्युत प्राधिकरण प्रमुखमा कुलमान घिसिङलाई ल्याएपछि नेपालमा लोडसेडिङ इतिहास बनेको हो ।

संसद विघटनपछि बादलले भने हुँदाखाँदाको गृहमन्त्री छोड्न चाहेनन् । ओली खेमातिर नै लागे । निरिह नै भएपनि उनको गृहमन्त्री पद यो समाचार टिप्पणी लेख्ने बेलासम्म सुरक्षित छ ।

गत माघ ४ गते नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको टिप्पणी गरे। विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘तिनीहरूलेयति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।

मैले नै पार्टी एकीकरण गर्दा स्थायी कमिटीमा ल्याएको हुँ तर मन्त्री हुन दौडिए ।

बादल र रायमाझीको त्यो अस्वाभाविक अभिव्यक्ति
पार्टी राजनीतिक रूपमा अलग भइसकेपछि बादल र रायमाझी दुवैले पूर्व एमालेलाई पनि लाज लाग्ने गरी पूर्वमाओवादीलाई लक्षित गर्दै अस्वाभाविक अभिव्यक्ति दिने गरेका छन् ।

शनिवार बुटवलमा आयोजित एक कार्यक्रममा रायमाझीले भने, ‘अब पूर्व जनमुक्ति सेनाको लालनपालन केपी ओलीले गर्नुहुन्छ ।’ ओली तिनै हुन्, जसले जनयुद्धलाई कुहिएको फर्सी भनेका छन् ।

माओवादी जनयुद्धप्रति चरम कुण्ठा पोख्ने ओलीलाई रायमाझीले जनमुक्ति सेनाको लालनपालन कर्ता देखेका छन् ।

बादल उस्तै छन् । उनले प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेकाहरूलाई चिडियाखानामा लगेर थुन्ने चेतावनी समेत दिने गरेका छन् । प्रचण्डकै भाषामा सबैभन्दा बढी खरानी घस्नेहरू रायमाझी र बादल नै हुन् ।

खरानीको मूल्य कति ?

ओलीले चुनाव खर्च उठाउनुस भन्दै पूर्वमाओवादीका नेताहरूलाई धमाधम लगेर मन्त्री बनाएका हुन् । यदि चुनाव हुने हो भने अहिले मन्त्री बनेकाहरू वैशाख मसान्तसम्म रहनेछन् ।

संसद विघटन पुस ५ गते भएको थियो । संसद विघटनपछि ओली समूहमा लागेका रायमाझी र बादल पुस, माघ, फागुन, चैत र वैशाख गरी जम्मा ५ महिना मन्त्री बन्ने हुन् ।

बादल शुरूदेखि नै मन्त्री भएका हुन्, तर उनको हिसाब खरानी घस्न शुरू गरेपछि मात्र गर्नु वान्छनीय हुन्छ ।

शुरुमै उल्लेख गरेअनुसार बादलले तलब भत्ताका रूपमा ५ महिनामा १५ लाख ५० हजार ६ सय ४५ कमाउनेछन्।त्यत्तिकै तलबभत्ता रायमाझीले पाउने हो भने दुवैको संयुक्त तलब हुनेछ जम्मा ३१ लाख १ हजार २९०।

अर्थात बादल र रायमाझीले घसेको खरानीको मूल्य ३१ लाख १ हजार २९०। यहाँ अन्य मन्त्रीहरूले घसेको खरानीको मूल्य समावेश गरिएको छैन ।

उनीहरूले अलि कम मूल्यको खरानी घसेका छन्, यी दुई मन्त्रीको तुलनामा ।

मन्त्री बनेपछि टेबुलमुनीको कमाईका बारेमा चर्चा गर्न तथ्यांकले साथ दिँदैन। चुनाव खर्च उठ्ने गरी काम गर्नुहोस् भन्ने ओलीको निर्देशन उनीहरूले कसरी पालना गर्लान्, त्यो भविष्यले देखाउनेछ ।-ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय