आज बुटवलमा ओली समूहले विशाल जनसभा गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज रूपन्देहीको बुटवलमा विशाल जनसभा आयोजना गर्दै छ ।

जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका ओली समूहका नेताहरुले बताएका छन । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज बिहान बुटवल प्रस्थान गर्ने नेताहरुको भनाई छ ।

आजको जनसभा ऐतिहासिक हुने र प्रदेशका २ लाख नागरिक उतार्ने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ ।

आमसभा दिउँसो साढे १२ बजे सुरु हुने पोखरेलले बताउनुभयो ।
त्यसअघि प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको बिहान साढे १० बजे शिलान्याश गर्ने पोखरेलले बताउनुभयो ।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकालेका थिए । उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

जनसभामा प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ ।

नेकपाको ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा विशाल जनसभा गरिसकेको छ ।-ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय