किशोरवयको संवेदनशिलता र स्वास्थ्यको ख्याल कसरि राख्ने

वाल्यकाल पार गरेपछि जब हामी किशोरवयमा प्रवेश गर्छौं, हाम्रा शारीरिक अंगहरु थप परिस्कृत हुन थाल्छ ।

यही चरणमा पुगेपछि हामीमा भावनात्मक परिवर्तन पनि हुनेगर्छ । एकातिर जीवनकै उत्साह, उमंग, उर्जाले भरिएको मन, अर्कोतिर परिवर्तनको संघारमा पुगेको शरीर ।

यी दुई कुरासँगै करियर, पढाई जस्ता कुराले पनि घेरा हालिरहेको हुन्छ । त्यसैले किशोरवय एउटा विशेष र संवेदनसिल चरण हो ।

यतिबेला हामी बहकिन्छौं । सानो कुरामा पनि तिब्र प्रतिक्रिया दिन्छौं ।

कुनैपनि कुरा गर्न आँट आउँछ । हामीमा उर्जा हुन्छ । उत्साह हुन्छ । तर, यही चरणमा पुगेपछि धेरै कुरामा होसियारी अपनाउनुपर्ने हुन्छ ।

किशोरवयमा पुगेपछि हुने शारीरिक परिवर्तनलाई कसरी सहज रुपमा लिने, कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने कुरा अभिभावकले नै सिकाउनुपर्छ ।

जस्तो यौनाङ्गमा रौं आउने, मासिक धर्म सुरु हुने, स्वर परिवर्तन हुने, विपरित लिंगप्रति आकर्षण बढ्ने, स्नतको आकार बढ्ने जस्ता थुप्रै परिवर्तन हुन थाल्छ ।

यी परिवर्तन प्राकृतिक हुन् । त्यसैले यसलाई स्वभाविक रुपमा लिनुपर्छ भनेर उनीहरुलाई सिकाउनुपर्छ ।

हुन त उनीहरु यसबारे वेखबर हुने वा अनभिज्ञ रहने होइन । तर, कतिपय अवस्थामा यसलाई उनीहरुले अस्वभाविक लिन सक्छन्, जसले मानसिक तनाव पैदा गर्छ ।

किशोरीमा मासिक श्राव सुरु हुँदा उनीहरुमध्ये कतिलाई यो निकै जटिल लाग्न सक्छ । पेट दुख्ने, ढाँड दुख्ने, दिक्क लाग्ने, झर्को लाग्ने जस्ता समस्या देखापर्छ ।

यस्तो अवस्थामा उनीहरुलाई परिवारको विशेष हेरचाह आवश्यक हुन्छ । खानपान र वसोवास सहित मानसिक रुपमा पनि उनीहरुलाई शान्त तुल्याउन सक्नुपर्छ ।

अहिले ग्लोवल वार्मिङको विश्वव्यापी प्रभावले बालबालिकामा उमेरभन्दा चाडै परिपक्कता देखिएको भनेर विभिन्न शोधमा खुलासा भइसकेको छ ।

विश्वमा बढ्दो तापमान, फास्टफूड, प्रविधिको पहुँच जस्ता कुराले उनीहरु उमेर अगावै परिपक्क भइरहेका छन् । यो परिपक्कता शारीरिक हो ।

यस अनुरुप मानसिक परिपक्कता भने नभएको बताइन्छ । यसले पनि उनीहरुमा अहिले तिब्र असर पारेको छ ।

किशोरावस्थामा प्रवेश गरिरहँदा उनीहरुलाई त्यस बखत हुने परिवर्तन र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जानकारी गराउनुपर्छ । हुन त अहिले विद्यालय तहमा यौनशिक्षाको व्यवस्था गरिएको छ ।

यद्यपी त्यो मात्र पर्याप्त हुँदैन । उनीहरुलाई व्यवहारिक रुपमै त्यस सम्बन्धी जानकारी गराउनुपर्छ ।

किशोरावस्थामा हुने शारीरिक परिवर्तनको कारण उनीहरुलाई पौष्टिक खानपानको आवश्यक हुने वताइन्छ । तर, अहिलेका किशोरपुस्ता फास्डफूड एवं बजारका तयारी खानामा पल्किएका छन् ।

उनीहरु चाउचाउ, मम, चाउमिन, पिज्जा, बर्गरमा अभ्यस्त छन् । यस्ता खान्कीले उनीहरुको शरीरलाई आवश्यक पोषण तत्व आपूर्ति नगर्न सक्छ ।

त्यसैले घरको स्वस्थ्यवद्र्धक खानामा उनीहरुलाई बानी पार्नुपर्छ ।

शारीरिक विकासका साथै मासिक धर्म सुरु हुने भएकाले किशोरीहरुले त खानपानमा ध्यान दिनैपर्ने बताइन्छ । यस सम्बन्धमा नेशनल हेल्थ र मेडिकल रिसर्च काउन्सिल अफ अष्ट्रेलियाका रिपोर्ट अनुसार स्वस्थ्य रहनका लागि यो चरणमा कति इनर्जी, प्रोटिन, क्याल्सियम र आइरनको आवश्यक हुन्छ, त्यसबारे यहाँ जानकारी गराइएको छ ।

किशोरीलाई आइरनको एकदमै बढी आवश्यक हुन्छ । उनीहरुलाई प्रतिदिन १२ देखि १५ मिलिग्राम आइरन आवश्यक हुन्छ ।

यो तत्व उनीहरुले चिकेन, सिमी, बदाम, हरियो सब्जी आदिबाट प्राप्त गर्न सक्छन् ।

किशोरवयको विकास र गतिविधिमा पूर्ण योगदानका लागि प्रतिदिन २,२०० क्यालोरीको जरुरी हुन्छ । यसका लागि उनीहरुले प्रोटिन, लो डेरी प्रोडक्ट, फल, सब्जीको मात्रा बढाउनुपर्छ ।

शारीरिक वृद्धि र हड्डीको विकासका लागि प्रोटिनको अहंम् भूमिका हुन्छ । किशोरीले प्रतिदिन ४५ देखि ६० ग्राम प्रोटिनको आवश्यक हुन्छ । यी पोषक तत्व उनीहरुले पनिर, अन्डा, सोया फूड, चिकन, दुध आदिबाट प्राप्त गर्न सक्छन् ।

किशोरावस्थामा हड्डीको विकासका लागि पनिर, दही, दुध आदि पर्याप्त मात्रामा सेवन गर्नुपर्छ ।

सन् १९९५ मा भएको नेशनल न्यूट्रिशन सर्वेका अनुसार ९५ प्रतिशत अष्ट्रेलियाई युवती मोटो भइने भयले डेरी प्रोडक्ट खाँदैनन् ।

तर क्यानडामा भएको एक सर्वे अनुसार जो नियमित रुपमा दुध पिउने गर्छन्, उनीहरु सधै फिट रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय