अभिभावक र शिक्षाप्रेमी माथि ठुलो घात : गुल्मीको एक सरकारी विद्यालयले १ करोड १० लाख खर्चेर बोर्डिङ स्कुल किन्दै.

गुल्मी । सुन्दा अचम्म लाग्न सक्छ ! केहि व्यक्तिको स्वार्थका लागि एक करोड १० लाख तिरेर निजि बोर्डिङ खरिद गर्ने प्रक्रिया अघि बढाईयो भन्दा । यस्तै अचम्मित पार्ने काम गुल्मीको एक विद्यालयले गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माद्यामिक विद्यालयले केहि व्यक्तिलाई खुसी पार्नका साथै उनीहरुको स्वार्थ पुरा गरिदिन चर्को मुल्यमा स्थानीय एक बोर्डिङ स्कुलको जग्गासँगै भवन खरिद गर्ने निर्णय गरेको छ ।

खास घटना के हो त ?

मालिका माद्यामिक विद्यालयले गत वर्ष प्राविधिक शिक्षा सञ्चालनका लागि शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गर्यो । प्राविधिक शिक्षा सञ्चालनका लागि गरिएको महायज्ञप्रति स्थानीय अभिभावक पनि खुसि हुँदै आफु सक्दो सहयोग गरेका थियो ।

सबैको प्रयासबाट ७३ लाख रकम जुट्यो । अभिभावकको सक्रियतासँगै सरकारबाट पनि सहयोग प्राप्त हुँदै गयो र यो वर्षदेखि निःशुल्क प्राविधिक शिक्षा पनि सञ्चालन गरियो । अहिले कृषि क्षेत्रको बाली विज्ञान विषय कक्षा ९ देखि अध्यापन सुरु गरिएको छ ।

प्रयोगात्मकका लागि विद्यालयलाई जग्गा आवश्यक परेपछि विद्यालयले जग्गा खरिदको निम्ति सूचना समेत जारी गर्यो । प्राप्त भएका निवेदनमाथि कुनै छलफल नगरी निवेदन नै नदिएको स्थानीय सिभिल इङ्लिस बोर्डिङ स्कुलको चार रोपनी जग्गा सहित भवन किन्ने निर्णय भएको छ । जुन निर्णयले यहाँका अभिभावक र शिक्षाप्रेमी माथि घात भएको प्रष्ट पार्दछ ।

निजि बोर्डिङलाई मालिका माविसँग समायोजन गर्ने, कक्षा पाँच सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने र २०७९ सम्म एक करोड दस लाख तिर्ने सर्त उक्त निर्णयमा रहेको बताईएको छ ।

यसरी भयो अभिभावक तथा शिक्षाप्रेमीमाथि घात

महायज्ञमा यहाँका स्थानीयले दिएको सहयोग रकम कुनै डुब्न लागेको निजि बोर्डिङ उद्धारका लागि होइन । तर अभिभावकको मर्ममाथि प्रहार गर्दै र अन्यायपुर्ण तवर गरिएको निर्णयले मालिका माविकै शिक्षकहरु चिन्तित छन् ।

नाम नखुलाउने सर्तमा धेरै शिक्षकहरुले सल्लेरी खबरसँग गुनासो समेत गरे । ‘धरायसी बन्दै जान लागेको बोर्डिङ प्रति दया देखाउँदै एक करोड १० लाख खन्याउनुका पछाडी धेरै रहस्यहरु छन् ।’

निजि बोर्डिङमा मालिका माविका शिक्षकका नाता गोता श्रीमतीको लगानि रहनु , विद्यालय व्यवस्थापन समितिका अध्यक्षका श्रीमानको लगानि रहनु, राजनीतिक विचारका कारण विरोध गर्दै आएका तत्वहरुलाई खुसी पार्नु, र मिलेसम्म सक्दो कमिसन हात पार्न जस्ता दाउ रहेका छन् ।

त्यतिमात्र नभई पछिल्लो समय वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत आर्थिक प्रलोभनमा फसे कि भन्ने अनुमान स्थानीयले गर्न लागेका छन् ।

कानुन भन्दा बाहिर जादै निवेदन आएका जग्गाप्रति कुनै छलफल नगरी बोर्डिङको जग्गा ताक्नु, खरिद ऎन भन्दा बाहिर जादै मोटो रकम तिर्न सहमति जनाउनुले विद्यालयका प्रधानाध्यापकको क्षमता तथा जग्गा खरिद गर्ने सहमति जनाई हस्ताक्षर गर्नेहरु माथी नैतिक तथा कानुनी प्रश्न उब्जिएको छ ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले भवन किन्दा अलि महँगो भएको बताएका छन् । तर सबैको सहमतिले किनिएको उनको दाबी छ ।

कतिपयले बोर्डिङ स्कुलको खारेज गरी दुइ थरी शिक्षाको अन्त्य भएको अनौठो प्रतिक्रिया दिएका छन् । एक स्थानीय निजि बोर्डिङ बन्द गराउँदैमा कुनै दुई थरी शिक्षाको अन्त्य हुँदैन नजिकै अर्को बोडिङ स्कुल चलिरहेको छ ।

त्यस्तै खरिद गरिएको बोडिङका कक्षा कोठा प्राविधिक शिक्षाका लागि उपयुक्त देखिदैन । नमुना विद्यालयको अनुमती पाएको मालिका मावि सम्हालेकालेबाट घातक निर्णय भएको अभिभावकको गुनासो रहेको छ ।
श्रोत गुल्मी अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय