मुसिकोटमा नगर प्रमुख र वडा नम्बर ७ का अध्यक्ष तथा जनप्रतिनिधिवीचको टकराव

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र वडा नम्बर ७ का अध्यक्ष तथा जनप्रतिनिधिवीचको टकराव बढेको देखिएको हो ।

खासगरी यी दुई जनप्रतिनिधिहरुवीच पहिलेदेखिनै वादविवाद हुँदै आएको स्थानीयहरु बताउँछन् । त्यसैमाथि अहिले केन्द्रीय नेकपामा देखिएको विभाजनको बाछिटा स्थानीय तहमा पनि छ्याङ्गै देखिएको छ ।

कसरी शुरु भयो विवाद ? चालू आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारले मुसिकोट नगरपालिकालाई सभाहल निर्माणको लागि ५० लाख रकम दिने गरी बजेट विनियोजन गरेको थियो । एक करोड लगानीमा बनाइने सभाहलमा प्रदेशको ५० लाख र नगरपालिकाको ५० लाख लगानी गर्ने भनिएको थियो ।

वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पस नजिकै रहेको जग्गामा सभाहल निर्माण गर्ने तय भइसकेको थियो । तर उक्त जग्गामा संघीय सरकारको शतप्रतिशत लगानीमा भेटेनरीको कार्यालय बनाउने गरी ठेक्का समेत अघि बढेको छ । स

भाहल बनाउने जग्गामा भेटेरेनरीको कार्यालय बन्ने भएपछि सभाहलको लागि प्रदेशले दिएको बजेट फ्रिज हुने भएको छ ।

उक्त रकम जानीजानी फ्रिज गर्न लागिएको भन्दै मुसिकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले सहितका वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।

मुसिकोट नगरपालिकाको कार्यालय
नगरप्रमुखले जनतामाथि गद्धारी गरेः वडाध्यक्ष काफ्ले
‘विकास गर्न आएको रकम फिर्ता गर्नु अपराध हो, नगरप्रमुख उपप्रमुखले यस्तो सोच्नुपनि हुन्न,’ वडाध्यक्ष प्रकाश काफ्लेले भन्नुभयो, ‘बजेट फ्रिज गराउने त्यस्तो प्रस्ताव पनि कार्यपालिकामा ल्याउन सक्ने व्यक्ति विकास प्रति कत्तिको संवेदनशिल होला?’

काम गर्दा गर्दै पनि फ्रिज हुने अवस्था आएको भएपो चिन्ता हुन्थ्यो,’ उहाँले थप्नुभयो, ‘काम गर्नै नखोजि बजेट फ्रिज गराइएको छ, बजेट फिर्ता हुँदा दुःखी हुनुपर्ने हो, उहाँहरु त खुशी भइरहनुभएको छ । यो जनतामाथिको गद्धारी हो ।’

सभाहल बन्ने जग्गामा भेटेरेनरीको कार्यालय बन्ने भएपछि प्रदेशबाट आउने रकम फिर्ता गर्र्ने नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैया रकमान्तर गर्ने गरी माघ १८ गते नगरकार्यपालिकामा प्रस्ताव पारित भएको छ ।

उक्त प्रस्ताव पेश गर्ने दिन वडाध्यक्ष काफ्ले भने उपस्थित हुनुभएन् । उक्त प्रस्ताव भोली बुधबार हुने नगरसभाले पास गर्नुपर्ने हुन्छ अनिमात्र कार्यान्वयन हुन पाउँछ ।

‘बुधबार हुने नगरसभामा उक्त प्रस्ताव पेश गर्दा हामीहरुले विरोध गर्छाैँ’, वडाध्यक्ष काफ्लेले भन्नुभयो, ‘जबरजस्ती गरियो भने नाराबाजी गर्छाैँ, तोडफोडजस्ता आक्रामक काम भने गर्दैनौँ, लोकतान्त्रिक पद्धतिबाटै विरोध जनाउँछौँ ।’

वडाध्यक्ष काफ्लेले क्याम्पसंग जोडिएको जग्गाबाहेक वडा कार्यालय भएको ठाँउमा, ढावरोड, ग्वादीकाचौर फेँदी वा अन्य क्षेत्रमा पनि जग्गा उपलब्ध भएको बताउनुभयो ।

५० लाख रुपैया बजेट फिर्ता हुँदा पनि नगरप्रमुख खुशी भएको भन्दै काफ्लेले आपत्ति जनाउनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रपती ७ रनिङ्ग शिल्ड सन्चालन शिर्षकमा विनियोजन गरिएको तीन लाख रुपैया पनि रकमान्तर गरिएको भन्दै वडाले विरोध जनाएको छ ।

जग्गा नहुँदा रकम फिर्ताः नगरप्रमुख

यता नगरप्रमुख सोमनाथ सापकोटाले भने जग्गा अभाव भएको कारण सभाहलको बजेट फिर्ता गर्नुपरेको बताउनुभयो ।

‘यसअघि क्याम्पससंग जोडिएको जग्गामा सभाहल बनाउने निर्णय भएको थियो, तर संघीय सरकारले भेटेरेनरीको अफिस बनाइदिने भएको कारण त्यही जग्गामा ठेक्का भइसकेको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले सभाहलको लागि तत्कालै जग्गा उपलब्ध नभएको कारण समस्या भयो ।’

वामीटक्सार, तस्वीर सौजन्य: रविलाल पौडेल
उहाँले भुकुवाचौरमा सभाहल बनिसकेको, ग्वादीकाचौरमा पनि कभर्डहल बन्न लागेको कारण वामीटक्सारमै सभाहल बनाउन जोड दिएको र अहिले तत्कालै जग्गा नभेटिएको कारण समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार गत बर्ष गरेको कामको ३ करोड ५५ लाख रुपैया भुक्तानी गर्न बाँकी छ । त्यसको लागि भुक्तानी गर्न सभाहलको लागि छुट्टाइएको रकम रकमान्तर गर्न लागिएको हो ।

‘यसविषयमा विषयगत समितिले पनि तयारी गरेरै कार्यपालिकामा प्रस्ताव ल्याउनुभएको हो’, उहाँले भन्नुभयो, ‘अस्ति बैठकमा प्रकाश जी आउनुभएन, त्यतिबेला विवाद थिएन । एक्कासी उहाँले हिजो मिडियामा दिनुभएछ ।’

उहाँले नगरभित्रका समस्या भित्रबाटै समाधान गर्नुपर्ने भन्दै काफ्लेले सार्वजनिक रुपमै विवाद देखाउनु गलत भएको बताउनुभयो ।

राष्ट्रिय राजनीति विभाजनको छिटा

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुईधारमा विभाजित भएको छ । यसको सोझो असर स्थानीय तहमा पनि देखिएको छ । नगरप्रमुख सोमनाथ सापकोटा प्रचण्ड–माधव पक्षका हुन् भने वडाध्यक्ष काफ्ले ओली पक्षका हुन् ।

यसैगरी नगरपालिकाका अन्य जनप्रतिनिधिपनि दुई पक्षमा विभाजित भएका छन् । जसको कारण स्थानीय तहको कार्यसञ्चालनमा पनि अवरोध सिर्जना भएको हो ।

नगरप्रमुख सोमनाथ सापकोटाले विचार फरक भएपनि त्यसको असर नगरपालिकाको काममा पर्न नहुने बताउनुभयो ।

‘राष्ट्रिय राजनीतिमा देखिएको विभाजनको असर स्थानीय तहमा देखिएको भन्ने तपाईहरुको विचार हो’, सापकोटाले ज्योतिन्यूजलाई भन्नुभयो, ‘विचार सबैको एक नहुन सक्छ ।’

यता वडाध्यक्ष काफ्लेले भने वामीटक्सार ओलीमय भएको भन्दै त्यसको जलन अन्य जनप्रतिनिधिमा भएको समेत टिप्पणी गर्नुभयो ।

नगरपालिकामा जनप्रतिनिधिवीचको किचलो सार्वजनिक रुपमै देखिएको स्थानीय बासिन्दाले भने रुचाएका छैनन् । कतिपयले स्थानीयले जनप्रतिनिधिले भने आउने चुनावको मेलोमेसो गरेको टिप्पणी गरेका छन् । कतिपयले यसलाई ‘साँढेको जुधाई बाच्छाको मिचाई’को संज्ञा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय