निर्वाचन आयोगमा पार्टी आधिकारिकता दावी गर्दै प्रचण्ड-माधव समूह

काठमाडौँ । सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै दुई खेमामा विभक्त नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

राजधानीमा सोमबार बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।सोही पत्र लिएर नेताहरु आज आयोग गएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै उक्त समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयोगले जुन पत्र पठाएको छ,

त्यो विषयमा जवाफसहित पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन अयोगलाई पत्र लेखिएको बताइएको छ ।

गत पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो ।

नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

आयोगले दुवै पक्षले पठाएको विवरण कानूनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।

सोमबार बसेको बैठकले यसअघिको स्थायी कमिटीको प्रस्तावअनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय अनुमोदन गरेको छ ।

गत आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो ।

बैठकले पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । स्थायी कमिटीले यसअघि नै महासचिवलाई जिम्मेवारीमुक्त बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।
श्रोत ज्योतिन्यूज डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय