ओलीलाई साधारण सदस्यबाट हटाउने नेकपा प्रचण्ड–नेपाल पक्षको निर्णय

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बैठकले यस अघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ ।

साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’

यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ ।

थप घटनाक्रमको विकासलाई पार्टीले गम्भिरतापूर्वक नियाल्ने छ र पार्टी सँधै लोकतन्त्रको पक्षमा छ र त्यस प्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’
श्रोत न्यू सञ्चार डटकम

प्रतिक्रिया

सम्बन्धित खवर