सन्दर्भ माघ १९ : ओलीको अनुहारमा ज्ञानेन्द्रको ‘भूत’

काठमाडौं । २०६१ सालको माघ १९ गते नेपाली लोकतान्त्रिक इतिहासमा कालो दिनका रूपमा रहेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले संवैधानिक व्यवस्थामाथि प्रहार गर्दै बहुदलीय लोकतन्त्रको अपहरण गरेका थिए ।२ सय ४० वर्षीय शाहवंशीय सत्ता ढाल्नका निमित्त जनमुक्ति सेनाले सशस्त्र अभियान चलाइरहेको थियो

भने ज्ञानेन्द्रमा प्रत्यक्ष शासन गर्ने अभिलाषा जागेपछि तत्कालीन ७ दल सडक आन्दोलनमा थिए ।आन्दोलनमा रहेका सयौं

नेता-कार्यकर्ताहरूमाथि ज्ञानेन्द्रले झुटो मुद्दा लगाएर जेल हाल्ने प्रपन्च रचिरहेका थिए ।

इतिहासको बिर्सन लायक दिन माघ १९ गते संयोगले आजै हो ।

त्यही आन्दोलनका भरमा आएको लोकतान्त्रिक गणतन्त्रका निर्वाचित प्रधानमन्त्री खड्गप्रसाद ओलीको अनुहारमा ज्ञानेन्द्रको हाउभाउ र भावभंगीमा कपी पेस्ट भएको छ ।

ज्ञानेन्द्रले २०६१ को माघ १९ गते संवैधानिक व्यवस्थामाथि प्रहार गरेका थिए भने खड्ग ओलीले गत पुस ५ गते असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेर संवैधानिक व्यवस्थामाथि प्रहार गरे ।

यद्यपि अहिले देख्नमा लोकतन्त्रको अपहरण भएको छैन ।

संविधानको धारा ७६ को उपधारा ७ को अपव्याख्या गरेर ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरे ।

राष्ट्रपतिले तत्कालै त्यसलाई सदर गरिदिइन्। संविधानका अन्य धाराहरू क्रियाशील छन् ।

ओलीले गलत व्याख्या गरेको धाराका बारेमा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ ।

अर्थात अदालतसँग संविधानमाथिको प्रहार रोक्न सक्ने क्षमता छ ।

अदालतले रोकिदियो भने ओली ज्ञानेन्द्रभन्दा छिटो पतन भएर खस्नेछन् । इतिहासको बिर्सन लायक पात्र बन्ने छन् ।

ज्ञानेन्द्रले आफूमाथि अवशिष्ट अधिकारको रहेको दाबीसहित आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरेका थिए । त्यही तर्क ओलीले गरेका छन् ।

अदालतमा पठाएको लिखित जवाफमा ओलीले भनेका छन् – संसदीय प्रणालीमा संसद भंग गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई हुन्छ।

त्यही कारण संसद भंग गरिएको हो । जबकी संविधानमा प्रधानमन्त्रीको विशेषाधिकार कहीं उल्लेख गरिएको छैन ।

ओलीको अर्को (कु)तर्क छ – प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन भनेर संविधानको कुन धारामा लेखिएको छ ? जबकी संविधानले सिर्जना गरेको पदमा आसीन व्यक्तिले संविधानले नभनेको गर्ने होइन, संविधानले भनेको मात्र गर्नुपर्छ ।

यही बुँदालाई समातेर सर्वोच्च अदालतको संवैधानिक इजलासमारिट निवेदकका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

रिट निवेदकका तर्फबाट बहस गर्ने एक वकिलले ज्योतिन्यूजसँग भने – ‘संविधानमा त भ्रष्टाचार गर्न पाइदैन भनेर पनि लेखिएको छैन । हत्या, अपहरण र बलात्कार गर्न पाइदैन पनि भनिएको छैन ।

ओलीले आफ्नै तर्क समातेर प्रधानमन्त्रीले चोरी डकैती, हत्या, बलात्कार गर्न पाउन्न भनेर कहाँ लेखिएको छ भनेर हिंडे भने के हालत होला ?’

यही तर्क गर्ने गर्दथे ज्ञानेन्द्र । उनले संविधानमा नलेखिएका कुराहरू सबै आफ्नो अवशिष्ट अधिकारभित्र पर्छ भन्ने ठान्दथे ।

उनले संविधानले परिकल्पनै नगरेको शाही आयोग गठन गरे । दलका नेताहरूलाई जबरजस्ती जेलभित्र कोचे ।

केही दिनअघि परराष्ट्रमन्त्रीसमेत रहेका ओली समूहका नेता प्रदीप ज्ञवालीले सार्वजनिक सम्बोधनका क्रममा भनेका थिए – धूलो लागेका भ्रष्टाचारका फाइलहरू हामी टक्टक्याउँदै छौं ।

खासमा भ्रष्टाचारको फाइल सरकार आफैंले टक्टक्याउने होइन । त्यसका लागि संवैधानिक निकायहरू छन् । ज्ञवालीको भनाइमा शाही आयोगको झल्को देखिएको छ ।

निःसन्देह भ्रष्टाचारीमाथि कारवाही हुनुपर्छ, यसको अर्थ के होइन भने जो आफैं भ्रष्टाचारको जगमा सरकार चलाइरहेको छ, उ सँग अन्यमाथि कारवाही गर्ने कानूनी वैधता हुँदैन ।

जसरी ज्ञानेन्द्रले ‘कू’ गरेपछि तीर्थाटनमा निस्कने गर्दथे, ठीक त्यही पारा खड्ग ओलीले ल्याइरहेका छन् ।

उनले अहिलेसम्मका कुनै प्रधानमन्त्री नगएको पशुपतिमा गए । बत्ती बाले । पूजा गरे । ३० करोडको जलप लगाउन राज्यबाट निकासा दिने प्रतिबद्धता पूरा गरे ।

शासन चलाउन असफल भएपछि संसारका जुनसुकै तानाशाहले धर्मको सहारा लिने गर्छन् । ओलीले त अझ आफूलाई कम्युनिस्ट हुँ भन्ने दाबीसमेत गरेका छन् । प्रधानमन्त्रीको सपथ ग्रहणका क्रममा ओलीले ईश्वरको ठाउँमा जनता उच्चारण गरेका थिए ।

संसद विघटन गरेर संवैधानिक व्यवस्थामाथि प्रहार गरेपछि ओलीले पूर्वदेखि पश्चिमसम्मको यात्रा तय गरिरहेका छन् ।

बालुवाटारबाट केही किलोमिटरको दूरीमा रहेको सिंहदरबारमा डेढ वर्षदेखि नछिरेका ओली सरकारी खर्चमा हेलिकप्टर लिएर सुदूरपश्चिम पुगेका छन् ।

सरकारी खर्चको दुरुपयोग गर्दै सुदूरपश्चिम पुगेका ओलीले आफ्नै सहयोद्धामाथि सुन्नै नसकिने गाली बर्साउने गर्छन् ।

एउटा फरक के छ भने ज्ञानेन्द्रले सार्वजनिक कार्यक्रममा नेताहरूको उछितो काढेर सरापेनन्। तर ओलीसँग गालीको वर्षा गर्ने क्षमता छ ।

उनको भाषिक पकड राम्रो छ । ज्ञानेन्द्रको थिएन । ज्ञानेन्द्रले सोची विचारी बोल्ने गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय