निस्क्रिय छन् बागलुङका पालिका र कार्यालयका वेबसाइड

रेडियो सारथी,बागलुङ । जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाईड सञ्चालनमा ल्याएका छन् । तर, बागलुङ जिल्लाका पालिकाको वेबसाईड अपडेट हुन नसकेको पाइएको छ ।

आफ्ना नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी, सेवा र सूचनामूलक बनाउन सबैजसो कार्यालयको वेभसाइड बनाइए पनि बागलुङका अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट गरेका छैनन् । जिल्लाको सबैभन्दा महत्वपूर्ण कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले समेत आफ्नो वेबसाइडमा अपडेट नगरेको पाइएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । अझ कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको समेत विवरण राखेका छैनन् भने सम्पर्क नम्बर समेत गलत छन् ।

सूचना र सञ्चारको युगमा वेवसाइड खोल्दा स्थानीय तहको सबै विवरण शिर्षक अनुसार हुनुपर्नेमा सामान्य अपडेट मात्रै गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको वेवसाईडमा जिल्लाका सहरकारी कार्यालय प्रमुखहरुको विवरणमा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको नाम छ । जबकि जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने आएको पनि चार महिना वितिसक्यो ।

यद्यपि, यस विषयमा जानकारी लिदाँ प्रमुख जिल्ला अधिकारीले केही अपडेट नभएको भए सच्चाउने प्रतिवद्धता जनाउनुभयो । प्रतिक्रिया लिए लगत्तै अहिले सरकारी कार्यालय प्रमुखहरुको नामावली विवरणनै हटाइएको छ । तर, सामचार तयार पार्दा उक्त अपडेट नभएको तस्विर लिइसकेको थियो ।

बागलुङका धेरैजसो स्थानीय तहका वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक, चौमासिक, आयव्याय, वार्षिक प्रगति प्रतिवेदन लगायतका विवरण भने अपडेट नै गरिएको छैन । केही अपडेट गरिए पनि पूर्ण छैनन् । वेबसाइड अपडेट नहुँदा सामान्य सूचना लिनका लागि पनि स्थानीय तह र सरकारी कार्यालयसम्मै पुग्नु पर्ने बाध्यता छ ।

हरेक स्थानीय तहमा वेबसाइड अपडेट गर्ने कर्मचारी भए पनि अपडेट नगरी तलब मात्रै खाएर बसेको सेवाग्राही गणेश शर्माले गुनासो गर्नुभयो । निसीखोला गाउँपालिकाको वेबसाइडमा सामान्य जनप्रतिनिधि र वडाको विवरण बाहेक अन्य कुरा वेबसाइडमा राखिएको छैन । निसीखोला गाउँपालिकाको वेबसाइड तीन महिना अघि सम्म खुल्दै नखुल्ने समस्या थियो ।

पछिल्लो समय त्यसमा सुधार गरेर बल्ल वेबसाइड अपडेटमा लागेको निसीखोला गाउँपालिकाका सूचना प्रविधि अधिकृत नारायण पौडेलले बताउनुभयो । “म कार्यालय आएको तीन महिना भयो, म आउनु अघि गाउँपालिकाको वेबसाइड बन्द अवस्थामा थियो, अहिले नयाँ वेबसाइड सञ्चालनमा ल्याएका छौं” पौडेलले भन्नुभयो “सामान्य अपडेट त गरेका छौं, आय व्याय विवरण, सामाजिक सुरक्षा भत्ता तथा पञ्जीकरणको विवरण प्रशासनबाट नआएका कारण अपडेट नभएको हो ।”

अहिले निसीखोलाको मोवाइल एप समेत रहेको पौडेलको भनाई छ । तर, वित्तीय सुशासन भित्र पर्ने कुनै पनि कुरा अपडेट नभएको पाइएको छ । नागरिक बडापत्र समेत अपडेट छैन । जिल्लाको गलकोट नगरपालिकाले वडा अध्यक्षहरुको समेत विवरण राख्न सकेको छैन । वडा कार्यालय र सम्पर्क नम्बर राखेपनि ११ वटै वडाको सम्र्पक नम्बरमा फोन गर्दा रजिष्टर गरिएको छैन भन्ने जवाफ आउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय