आफ्नो पक्षे  कमजोर भएका ठाउमा ओलीको रणनीति

सुदूरपश्चिममा ओली रणनीति

नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ ।

त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए पनि यो प्रदेशमा आफ्नो संगठनको अस्तित्व बचाउने कसरत गर्न थालेको हो ।

यस्तो थियो सुदूरपश्चिममा नेकपाको समीकरण

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा पूर्वमाओवादीले सुदूरपश्चिमबाट १४ जनालाई नेकपाको केन्द्रीय सदस्य बनाएको थियो ।

त्यस्तै चारवटा जिल्लामा अध्यक्ष र पाँच जिल्लामा सचिव पद पूर्व माओवादी पक्षले पाएको थियो । यस्तै पूर्वमाओवादीबाट सुदूरपश्चिम प्रदेशसभामा १४ जना निर्वाचित भएका थिए भने प्रतिनिधिसभामा तीन जना थिए ।

नेकपा विभाजनको धक्का कति ?

नेकपा विभाजनपछि पूर्वमाओवादी पक्ष र पूर्व एमालेमा माधवकुमार नेपाल पक्ष मिलेर अहिले नेकपाको प्रचण्ड–माधव पक्षले ओली पक्षलाई बलियो चुनौती दिएको छ । यतिमात्र होइन, केन्द्रमा यो पक्षले नै झण्डै ७० प्रतिशत केन्द्रीय सदस्यको समर्थन पाएको छ ।

सुदूरपश्चिम प्रदेशमा यो पक्षले आफ्नो साखलाई कायमै राखेको छ । नेकपा विभाजनका बाबजुद प्रचण्ड–माधव पक्षमा सुदूरपश्चिमबाट १३ केन्द्रीय सदस्यको समर्थन छ ।

यो प्रदेशबाट प्रचण्ड–नेपाल पक्ष छाडेर कित्ता परिवर्तन गरी ओली पक्षमा लाग्ने सबैभन्दा प्रमुख नेतामा लेखराज भट्ट पर्दछन् । उनलाई संघीय सरकारमा मन्त्री र पार्टी कमिटीमा प्रदेश इन्चार्ज बनाउने प्रलोभनका साथ ओली पक्षले आफूतिर तानेको हो ।

प्रदेश कमिटीमा प्रचण्ड–माधव पक्षकै बलियो पकड छ । विभाजन अघि पूर्वमाओवादीतर्फका ८३ प्रदेश कमिटी सदस्यमध्ये ६३ जना प्रचण्ड–माधव पक्षमा छन् भने २० जना प्रदेश सदस्य केपी गुटतिर लागेका छन् ।

त्यसैगरी पूर्वमाओवादीले पाएको ४ जिल्ला अध्यक्षमध्ये ३ जना प्रचण्ड–माधब पक्षमा यथावत छन भने एक जिल्ला अध्यक्ष केपी गुटतिर लागेका छन । जिल्ला सचिव ५ जनामध्ये ४ जना प्रचण्ड–माधव पक्षमा यथावत छन् भने एक जना केपी ओली पक्षतिर लागेका छन् ।

पूर्वमाओवादीका १४ जना प्रदेश सभा सदस्यमध्ये १२ जना प्रचण्ड–माधव पक्षमा छन् भने २ जना केपी गुटतिर गएका छन् । त्यसैगरी विघटित प्रतिनिधि सभा सदस्य ३ जनामध्ये विना मगर प्रचण्ड–माधव पक्षमा छिन् भने लेखराज भट्ट र गौरीशंकर चौधरी केपी ओली पक्षतिर लागेका छन् ।

प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य एब सुदूरश्चिम प्रदेश सचिव नेप चौधरीका अनुसार नेकपा विभाजनको अवस्थामा पनि प्रचण्ड–माधव पक्षले यो प्रदेशमा आफ्नो प्रभावलाई कम हुन दिएको छैन ।

पूर्व एमालेलाई कति धक्का ?

पार्टी एकतासँगै पूर्व एमालेले सुदूरपश्चिम प्रदेशबाट १८ जना केन्द्रीय सदस्य, १०० प्रदेश कमिटी सदस्य, ५ जिल्ला अध्यक्ष र ४ जिल्लामा सचिव पाएको थियो ।

यस्तै सुदूरपश्चिमबाट पूर्व एमालेका प्रदेशसभा सदस्य २५ र प्रतिनिधि सभा सदस्य १८ जना थिए ।

पूर्व एमालेतर्फबाट १८ जना केन्द्रीय सदस्यमध्ये ९ जना पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका छन् भने ९ जना केपी ओली गुटतिर छन् ।

यस्तै, पूर्व एमालेका १०० जना प्रदेश कमिटी सदस्यमध्ये ५४ जना प्रचण्ड–माधब समूहमा छन् भने ४६ जना केपी गुटतिर छन् । ५ जिल्ला अध्यक्षमध्ये ३ जना प्रचण्ड–माधव पक्षमा छन् भने २ जना केपी गुटतिर छन् । ४ जिल्ला सचिवमध्ये ३ जना प्रचण्ड–माधव पक्षमा छन् भने १ जना केपी गुटतिर छन् ।

प्रदेश सभा सदस्य २५ जनामा २० जना प्रचण्ड–माधव समूहमा छन् भने ५ जना केपी समूहतिर छन् । यस्तै, १८ जना प्रतिनिधि सभा सदस्य मध्ये ८ जना प्रचण्ड–माधव समूहमा छन् भने १० जना केपी समूहतिर छन् ।

यसरी हेर्दा पूर्वमाओवादी पक्षकाले खासै कित्ता परिवर्तन गरेका छैनन् भने पूर्व एमालेतर्फबाट ओलीको साथ छाड्नेको संख्या केन्द्रीय कमिटीदेखि लिएर प्रदेश कमिटीसम्म र प्रतिनिधिसभा सदस्यदेखि लिएर प्रदेशसभासम्म तुलनात्मक रुपमा निकै बढी छन् ।

सुदूरपश्चिममा संगठनात्मक रुपमा ७५ प्रतिशत प्रचण्ड–माधवतिर छन् भने २५ प्रतिशत केपी गुटतिर रहेको सुदूरपचिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी बताउँछन् ।

उनका अनुसार प्रदेश पदाधिकारी ६ जनामध्ये प्रदेश अध्यक्ष कर्ण थापा मात्र केपी पक्षतिर छन् भने प्रदेश ईन्चार्ज भिम रावल सहित ५ जना प्रचण्ड–माधव पक्षमा छन् ।

केपी ओली पक्षका केन्द्रीय सदस्य रतन थापा भने पूर्व माओवादीको प्रभाव बढी भएका कारण धेरैजसो प्रचण्ड–माधव समूहमा भएजस्तो देखिएको बताउँदै जिल्लास्तरमा र क्षेत्रमा भने केपी पक्षको बर्चश्व रहेको दावी गर्दछन् ।

‘हामीले कार्यकर्ताहरुलाई जागरुक बनाइरहेका छौं, निकट भविष्यमा यो प्रदेशका अधिकांश साथीहरु हामीतिर आउने निश्चित छ,’ उनले भने ।

प्रचण्ड–माधव पक्षका प्रदेश कमिटी सदस्य रमेश धामी भने पूर्वमाओवादी पक्षबाट लेखराज भट्टले धोका दिए पनि संगठनमा खासै फरक नपरेको दावी गर्दछन् ।

‘उहाँ एक जना ओली पक्षतिर गए पनि हामी जहाँको त्यहीँ नै छौं,’ उनले भने, ‘यो प्रदेशमा केपी ओली पक्षको संगठनात्मक धरातल नै छैन । त्यसैले जति मान्छे भेटिन्छन्, सबैलाई पद दिन्छु भनेर उहाँहरुले फकाइरहनु परेको छ ।’

केपी समूहका केन्द्रीय सदस्य उद्धब भट्टराईका अनुसार लेखराज भट्टले पूर्वमाओवादीका साथीहरुलाई आफूतिर तान्न प्रयास गरिरहेका छन् ।

यस प्रदेशबाट पूर्व माओवादीका ८५ जना कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएर केपी पक्षले आफूतिर तानिसकेको उनले बताए ।

श्रोत रतोपा पाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय